सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा

 लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई मंगलवार प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती मीना बस्नेत र छोरीलाई हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । स्थानीयले घटनाबारे खबर गरेपछि वलीलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा नभएको बताइएको छ । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए ।

नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।

नेकपा विभाजनपछि उनी माओवादीमा लागेकी थिइन् । मीना बस्नेतले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिएकी छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १७:५०