सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

काठमाण्डौ र गण्डकी पूर्वका केही ठाउँमा राति चट्याङ्गसहित ठूलो वर्षा

काठमाण्डौका खोलानालामा बाढी

काठमाण्डौ उपत्यकासहित गण्डकी पूर्वका केही ठाउँमा राति मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी परेको छ ।

ठूलो पानी परेका कारण काठमाण्डौका वाग्मती, विष्णुमति लगायत काठमाण्डौबाहिरका अरु नदी खोलानालामा बाढी आएको छ ।

तर कुनै पनि नदी खोलामा अहिलेसम्म पानीको सतह खतराको तहभन्दा माथि नपुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति ठूलो पानी परे पनि अहिले हल्का पानी मात्र परेको छ । दिउँसो र बेलुकीपख प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा केहीबेर ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षाका कारण राति मुग्लिन आसपासमा पहिरो खस्दा केहीबेर सडक अवरुद्ध भएको थियो । अहिले पहिरो पन्छाएर सडक खुलाइसकिएको मुग्लिन प्रहरीले जनाएको छ ।

मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोलामा अहिले एकतर्फी रुपमा आलोपालो गरेर गाडी चलाइएको छ ।

केहीबेरमा दुईतर्फी रुपमै गाडी चलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । पानी पर्नेबित्तिकै पहिरो खस्ने भएकाले सडक खुलाउन दिनरात प्रहरी खटिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार ०८:२९