सूचनाको शक्ति - The Power Of Information

        

मेरो डायरी

अनशन बसेर शेयरको मुल्य बढ्ला ?

एक सयको शेयर तीन हजारमा बेच्ने दलाललाई सरकारले कारबाही गरेको छैन । दलालहरुले कमाए, सोझासाझा नागरिकलाई फसाए ।

शेयर लगानीकर्ताहरु बौलाएर हिड्नुपर्ने अवस्था निम्तिएको छ । शेयर खरिदबिक्री निरन्तर ओरालो लाग्दा उनीहरुलाई ‘मर्नु न मोटाउनु’ भएको छ । शेयरमा लगानी गर्नेहरु चुर्लुम्मै डुब्दा पनि सरकारले शेयरमा बन्देज लगाएको छैन । पुराना त फसिसके भने नयाँ फस्ने क्रम जारी छ । आफुसँग भएको जायजेथा बेचेर शेयरमा लगानी गरे । तर, निरन्तर शेयरको मूल्य घट्दा उनीहरु सडक छाप भएका छन् । प्रतिकित्ता दुई हजारमा किनेको शेयर तीन सय पनि बिक्री नभएको लगानीकर्ताको गुनासो छ । नयाँले शेयर खरिद गर्न छोडिसकेका छन् । पुराना लगानीकर्ताहरु चिया पसलमा शेयर खरिदकर्ता खोज्दै हिँडिरहेका छन् ।

बैंक, फाइनान्स र विभिन्न संघसंस्थाले एक सय रुपैंया कित्तामा शेयर निस्कासन गरे । नाफा हुने देखेपछि शेयर खरिद गर्नेहरुको ओइरो लाग्यो । तर, पछिल्लो समय वित्तिय संस्थाहरु पनि टाट पल्टिँदै गए । यी संस्थाहरु आफैं घाटामा छन् । जसको कारण उनीहरुले बोनस दिन सक्ने अवस्था रहेन् । वित्तिय संस्थालाई जति नाफा भयो सोही अनुसार शेयर लगानीकर्तालाई नाफा दिन्छन् । यसले गर्दा शेयरको मुल्य बढ्छ । हामीले ६ महिनामा यतिधेरै नाफा कमायौं भनेर वित्तिय संस्थाहरुले झुठो विवरण सार्वजनिक गर्दै आएका छन् । सोझा नागरिकलाई ‘मुर्गा’ बनाउन उनीहरुले यो रणनीति अपनाएको बुझिन्छ ।

यसो गरेपछि सर्वसाधारणले सोही बैंकमा लगेर रकम जम्मा गर्ने र शेयर खरिद गर्ने भएकाले यो योजना बनाइएको हो । आफु कमाउन र बोनस खानका लागि सिधासाधा जनतालाई फसाउन मिल्छ ? शेयर धितो राखेर बैंक, फाइनान्सबाट कर्जा तिर्न नसकेर भाग्नुपर्ने अवस्था आएको छ । त्यसैगरी, घरजग्गा धितो राखेर शेयर किन्नेहरु सडकमा आइपुगेका छन् । आफुसँग भएको त सिद्धाइहाले । यता, अरुसँग ऋण लिएर शेयरमा लगानी गर्दा उनीहरु पनि डुब्ने भए । शेयरको मूल्य घटेर वित्तिय संस्थाहरु पनि डुबेको बुझिन्छ । एकातिर शेयरको मूल्य घटेको छ भने शेयर धितो राखेर कर्जा लिएकाहरुले किस्ता तिर्न सकेका छैनन् ।

शेयर दलालीहरुलाई बैंक, फाइनान्सले शेयरको मूल्य बढाउन लगाएका हुन् । शेयरको विषयमा ज्ञान नै नभएकालाई यसबाट नाफा हुन्छ भन्ने भ्रममा पारेर शेयर दलालीहरुले सोझासाझा नागरिकलाई फसाए । शेयर दलाल र वित्तिय संस्थाले महंगोमा शेयर बेचे, कमाए । तर, नाफा हुन्छ भनेर महंगोमा शेयर किन्ने निर्दोष जनताचाहिँ फसे । अरुको लहैलहैमा लाग्दा र छिटो धनी बन्ने सपना देख्दा एकसय रुपैंयाँ कित्ताको शेयरलाई तीन हजारसम्म मूल्य तिरेर किन्यौं । जुनै पनि संघसंस्थाले प्रतिकित्ता एक सय रुपैंयामा शेयर निकास गर्छ । तर, दलालसँग एउटा शेयरको तीन हजार हालेर किन्नेहरु पनि यत्तिकै छन् । एक सयको शेयर तीन हजारमा बेच्ने दलाललाई सरकारले कारबाही गरेको छैन ।

दलालहरुले कमाए, सोझासाझा नागरिकलाई फसाए । शेयरमा लगानी गर्नु भनेको जुवा खेल्नुसरह हो भने तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले भनेका थिए । आँखा चिम्लेर शेयरमा लगानी गर्दा उठीबास हुन सक्छ भनेर उनले पहिले नै सचेत पनि गराएका थिए । एक सय पर्ने शेयरलाई तीन हजार हालेर खरिद गर्नुको औचित्य के ? जनताले अर्थमन्त्री खतिवडाको कुरा नसुनेर ‘आफ्नो खुट्टामा आफैले बञ्चरो हाने ।’ उनले भनेको कुरा आज सत्य बन्यो । शेयर दलालहरु त्यतिखेर जति नै खनिए पनि उनले बोलेको हरेक शब्द आज सत्य साबित भयो । वित्तिय संस्थाले पनि अन्य क्षेत्रमा लगानी गर्न छोडेर शेयरमा मात्रै लगानी गर्न थाल्यो । जसको परिणाम बैंक र फाइनान्सले अहिले भोगिरहेको छ ।

शेयरमा मन्दी आउँदा उनीहरु त डुबिहाले । यता, बचतकर्ताले खाइनखाई जम्मा गरेको रकम पनि डुब्ने भयो । पछिल्लो एक वर्षदेखि सर्वसाधारणले वित्तिय संस्थामा लगेर पैसा राख्न छोडिसकेका थिए । आफ्नो खातामा भएको रकम पनि धमाधम निकाल्ने क्रम सुरु भइसकेको थियो । किनकि बाठाटाठाले एक वर्षअघि नै वित्तिय संस्था धरासायी बन्छ भनेर बुझिसकेका रहेछन् । निजी बैंकहरुसँग अहिले १० लाखको चेक साट्नसंग हैसियत छैन । सहकारीले त एक लाखको चेक पनि साट्न सक्दैनन् । कर्जा दिन ठप्पझैं भइसकेको छ । यति प्रतिशत व्याज दिन्छौं भनेर लोभ देखाए पनि कोही जालमा फस्ने देखिँदैनन् । बैंक, फाइनान्सले आफुमाथिको विश्वास गुमाउँदाको नतिजा हो यो ।

अब जनताहरु व्याजको पछि भाग्दैनन् भन्ने कुरा अहिलेको अवस्थाले देखाइसकेको छ । वित्तिय संस्था जनताको पैसाबाट चलेको संस्था हो । एउटाले डिपोजिट गर्छ अर्कोलाई महंगोमा कर्जा लगाउछ । बिचमा बसेर पुलको काम गरेर वित्तिय संस्थाले कमाइरहेको थियो । तर, अब यी संस्था डुब्ने निश्चित छ । सहकारीहरुले पनि जथाभावी कर्जा लगानी गर्ने काम गरे । शेयरमा लगानी गर्नेमा सहकारीहरु पनि पर्छन् । जसका कारण सहकारी नै बन्द गरेर हिँड्नुपर्ने अवस्था आइलागेको छ । वित्तिय संस्थामा पैसा जम्मा गर्नेहरु अहिले तनावमा छन् । यता, शेयर लगानीकर्ताहरु त रातको निद्रा हराइसकेको छ । तापनि सरकार कानमा तेल हालेर बसेको छ । आफ्नो लगानी डुबेको आक्रोश पोख्न शेयर लगानीकर्ताहरु आन्दोलित भएका छन् ।

आफ्नो लगानीको बचाऊको माग गर्दै उनीहरुले सडकमा उत्रिने घोषणा गरिसकेका छन् । हिजो सरकारले शेयरमा लगानी गर भनेको हो ? महंगोमा शेयर खरिद गर भनेर सरकारले जबरजस्ती गरेको थियो र ? यसमा सरकारको के दोष । फाइदा हुँदासम्म त शेयर यस्तो र उस्तो भन्ने यिनीहरु नै होइनन् ? अर्थमन्त्री जनार्दन शर्माले समेत एक सयको शेयर तीन हजारमा खरिद नगर्नु भनेर सुझाएका थिए । तर, कसैले टेरपुच्छर मानेनन् । आफु नाफा कमाउनका निम्ति मँहगोमा शेयर किन्ने । अनि अहिले आएर सरकारलाई दोषी बनाउने ? यो पनि नैतिकता हो ? हिजो तीन हजारमा किनेको एक कित्ता शेयर पाँच हजार पुगेको भए राज्यलाई नाफा दिन्थे ? राज्यको नामसमेत पनि लिदैनथे । अनि शेयरको मूल्य घटेपछि चाहि राज्य गुहार्न मिल्छ ?

अहिले शेयर लगानीकर्ताहरु हाम्रो लगानी डुब्यो भनेर राजनीतिक दलको घरघर धाइरहेका छन् । हामी आन्दोलन गर्छौ, धर्ना बस्छौं भनेर सरकारलाई घुर्की देखाइरहेका छन् । आफै गल्ती गर्ने अनि आफै निर्दोष बन्न खोज्ने ! राज्यको ऐनकानुनलाई भुङग्रामा राखेर शेयर दलालीहरुले सिधासाधी जनतालाई ठगिरहेका थिए । अहिले ठग्न नपाएपछि यिनीको होश गुमेको स्पष्ट भएको हो । यता, जनता पनि चेतना आएको बुझियो । शेयर खरिद गर्नुहुन्न जतिबेला पनि डुब्न सक्छौ भनेर उनीहरुमा चेतनाको विकास भएको देखियो । शेयर दलालीहरुको हर्कत सञ्चार माध्यममा भण्डाफोर हुँदा सिधासाधी जनता बचे । शेयर दलालीहरु धरासायी बने । उनीहरुको लगानी डुब्यो ।

कानुनमा २० प्रतिशतभन्दा बढी नाफा खाएर कुनै पनि सामान बिक्री गर्न पाइदैन् । बैंकले सय रुपैंयामा निकास गरेर शेयर २० रुपैंया नाफा खाएर मात्र बेच्न पाइन्छ । तर, यहाँ त सय रुपैंयामा किनेको शेयर तीन हजारसम्म पनि बेच्ने काम भयो । त्यतिखेर सरकार टुलुटुल हेरेर बस्यो । उनीहरुलाई कानुनको दायरामा ल्याइएन । जनता र राज्यको आँखामा धुलो झोकेर अर्बपति भएका शेयर दलालहरु सडक छाप भएका छन् । आफुले गरेको कर्तुतको फल भखरै भोग्दैछन्, उनीहरु । शेयरको मूल्य बढाउनु र घटाउनुमा जनताको ठूलो हात छ । हिजो धेरै शेयर खरिदबिक्री भयो भाउ ह्वात्तै बढ्यो । आज शेयरको बिक्री ठप्पझै भयो, भाउ घट्यो । जनताभन्दा शक्तिशाली कोही पनि रहेछन् भन्ने कुरा साबित भइसकेको छ ।

जनतामा चेतना आउनु भनेको ठगिनुबाट जोगिनु हो । शेयर लगानीकर्ताहरु हिजो प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न पुगेका थिए । उनीहरु दिनहुजसो राजनीतिक दलको घर पुगिरहेका छन् । अनशन बस्छौं भनेर सरकारलाई त्रास देखाइरहेका छन् । तर, प्रधानमन्त्री देउवाले शेयरको मूल्य बढाउने हो ? उनीहरु अनशन बसेर शेयरको मूल्य बढ्छ भने पनि ठिकै छ । हिजो सिधासाधी जनतालाई हामी ठग्यौ भनेर उनीहरुले स्वीकार्नुपर्छ । जनताको चेत खुलेछ भनेर उनीहरुको मस्तिष्कमा छाप बस्नुपर्छ । अब सरकारले मँहगोमा शेयर बेचेर सिधासाधी जनता ठग्नेहरुलाई कारबाही गर्नुपर्छ । झुठो विवरण सार्वजनिक गरेर शेयरको मुल्य बढाउन खोज्ने वित्तिय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गर्नुपर्छ । शेयर लगानीकर्ता डुब्नुको प्रमुख दोषी वित्तिय संस्था र विभिन्न कम्पनीहरु हुन् । छिटो धनी बन्न खोज्दा आज गाँस, बास नै उठ्यो । जसरी बाघ मासु खाने लोभ खोरमा पर्छ, त्यसैगरी शेयर लगानीकर्ताहरु फसे ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १५:१२

सिफारिस