सूचनाको शक्ति - The Power Of Information

        

बुढीगंगा नगरपालिकामा स्थानीय चुनाव अझै अनिश्चित

मुलुकका ७५२ स्थानीय तहमा जनप्रतिनिधिले कार्यभार सम्हालेको महिना दिन पुग्न लाग्दा बाजुराको बुढीगंगा नगरपालिकामा भने स्थानीय चुनाव अनिश्चित बनेको छ ।

यहाँ वैशाख ३० मा भएको चुनावमा फर्जी मत खसेको भन्दै मतगणना भएन । तत्कालिन निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आयोगलाई पत्र पठाउँदै निर्वाचन स्वतन्त्र, स्वच्छ र मर्यादित नभएको बताएका थिए ।

त्यसपछि आयोगले बुढीगंगामा पुनः मतदान गर्ने निर्णय गरेको थियो तर अझै चुनाव कहिले हुन्छ भन्ने यकिन भइसकेको छैन । एमाले बाजुराले वैशाख ३० मा भएको चुनावकै मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दिएको छ ।

सुरक्षा निकायको लापरबाही देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा निर्वाचन अधिकृत पनि परिवर्तन गरिएको थियो । तर, आयोगले निर्वाचनको नयाँ मिति तोक्नेबारे निर्णय लिन सकेको छैन । यस विषयमा थप छलफल गर्न मंगलबार सर्वदलीय बैठक राखिएको छ ।

वैशाख ३० को निर्वाचनमा एमाले कार्यकर्ताले बुथ कब्जा गरेको आरोप कांग्रेसको छ । एमालेले भने सत्ताको दुरूपयोग गर्दै कांग्रेसले कब्जा गरेको दाबी गरेको छ । यहाँ कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर उम्मेदवार छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ०९:३५