सूचनाको शक्ति - The Power Of Information

        

बन्दुकसम्बन्धी कानूनमा कडाइ गर्न अमेरिकी सिनेटरहरू सहमत

आक्रमणबाट मारिएकाहरूको सम्झनामा महिला । तस्वीर : रोयटर्स

अमेरिकामा बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग भइरहेको प्रदर्शनका बीच सिनेटरहरु बन्दुक सुरक्षासम्बन्धी कानून बनाउन सहमत भएका छन् ।

अमेरिकी सिनेटरको अन्तरपार्टी समूह बन्दुक सुरक्षासम्बन्धी सम्भावित कानूनको ढाँचा तयार गर्न सहमत भएको हो ।

द्विपक्षीय सिनेट समूहले एक विज्ञप्ति जारी गर्दै अमेरिकाका बालबालिकाको सुरक्षा गर्न, विद्यालयहरुलाई सुरक्षित राख्न र देशमा हुने हिंसाको खतरालाई कम गर्नका लागि आफूहरुले एउटा द्विपक्षीय प्रस्तावको घोषणा गरेको उल्लेख गरेको छ ।

सिनेटरहरुले मानसिक स्वास्थ्य सेवा र विद्यालयमा सुरक्षाका लागि आवश्यक कुराहरुमा लगानी बढाउन पनि आह्वान गरेका छन् । घरेलु हिंसाको सजायमा कडाइ र बन्दुक किन्ने व्यक्तिहरुको पृष्ठभूमि जाँचका लागि राष्ट्रव्यापी डाटाबेस बनाउनुपर्ने उनीहरुले बताएका छन् ।

यस्तो कानूनमा २१ वर्षमुनीका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुनेछ । यो प्रस्तावलाई रिपब्लिकन पार्टीका १० जना सिनेटरले समर्थन जनाएका छन् ।

बन्दुकसम्बन्धी कानुनलाई कडा पार्ने विषयमा यसअघि पटकपटक भएका छलफलहरु रिपब्लिकन सिनेटरहरुको समर्थन नहुँदा असफल भएका थिए ।

केही दिनअघि भएका ठूला सामूहिक गोलीकाण्डका घटनापछि शनिबार अमेरिकाका सबैजसो सहरमा ठूला प्रदर्शन भएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ०८:५६