काठमाडौँमा मात्र दैनिक ४ लाख ७० हजारदेखि ४ लाख ८० हजार वटा प्लास्टिकका झोला दैनिक प्रयोग हुन्छन् । नेपालभर उत्पन्न हुने करिब १६ प्रतिशत सहरी फोहोरमैला प्लास्टिकजन्य उत्पादनबाट हुन्छ । यसबाट २७ टन दैनिक प्लास्टिकजन्य फोहोर मैला निस्कन्छ । हामी दैनिक प्रयोगका आधारमा हेर्ने हो भने अनुसन्धानकर्ताको दाबीअनुसार जनसमुदायले आजसम्म १ करोड टन प्लास्टिक उत्पादन गरेका छन् । यसमध्ये धेरैजसो प्रकृति मा विलिन भएर जान्छ ।
यसले मानव समुदाय तथा पर्यावरण लाई हानि पुर्याउँछ । मुलुकका मुख्य महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, मुख्य राजमार्गमा खुलेका होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरू प्लास्टिकजन्य फोहोरमैला उत्पादन गर्ने मुख्य जिम्मेवार पक्ष मानिन्छन् । यसरी उत्पादित प्लास्टिकजन्य फोहोरमैलामध्ये आधा मात्र उचित तरिकाले व्यवस्थापन हुन्छ । बाँकी हाम्रा महानगर, उपमहानगर, नगरका चोक, गल्ली र बाटामा छरपस्ट देख्न सकिन्छ । नेपालभरि वर्षमा ५६ लाख केजी प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने लाजमर्दो क्षमता राख्छ ।
त्यसमध्ये लगभग आधा फोहोर राम्रोसँग सङ्कलन हुन पाउँदैन । परिणाम हाम्रा नदीनाला तथा परिस्थितिकीय तन्त्र दिनहुँ गम्भीररूपले विषक्त हुँदै गइराखेका छन् । वास्तवमा प्लास्टिकको फोहोरले एक्लै नेपालमा मात्र पीडित छैन, बरु यो एउटा विश्वकै समस्या रहेको देखिन्छ । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कले यसको विभीषिका वर्णन गर्छन् । विश्वमा प्रतिवर्ष १० खर्ब प्लास्टिकका झोला प्रतिमिनेट प्रयोग गरेर फ्याँकिन्छन् । यसबाट के प्रष्ट हुन्छ भने यसको अधिकांश हिस्सा न त पुनःप्रयोग गर्न सकिन्छ न फोहोरका रूपमा सङ्कलन हुन्छ, आखिरमा जान्छ कहाँ त ?
वास्तवमा यो फोहोर हाम्रो धर्तीमा धस्सिराखेको हुन्छ, जहाँ यो सयकडौँ वर्षसम्म नष्ट नभई बसिराख्छ । यसको असरले धरतीमा रहेका अमुल्य दुर्लभ पशुपन्छी, मानिस र बोटबिरुवा मारिरहेका छौँ । यसको धेरैजसो हिस्सा नदीनाला हुँदै महासागरमा जाने गर्छ । वास्तवमा यस्तो फोहोर सबै पछिल्लो कैयौँ दशकदेखि भइराखेको छ । यो सबै फोहोर महासागरको गायरमा जम्मा हुँदै गएको छ । महासागरको स्थिति पनि प्रदूषणले गर्दा धेरै विनाशकारी हुँदै गइ राखेको छ ।
सम्भवतः अधिकांश वैश्विक जगत र आधुनिक मानव समाजलाई के महसुस भएको छैन भने यो सम्पूर्ण सभ्यता नै पर्यावरण प्रदूषणका रूपमा ज्वालामुखीको मुहानमा बसेको छ । फलफूल तथा तरकारीहरू केटाकेटीको दूध खाने बोतल, पिउने पानीको बोतल, कोल्ड ड्रिङ्क्सका बोतल तथा अन्य पदार्थ पूर्णरूपमा प्लास्टिकमा निर्भर छन् । समयको साथसाथै यी प्लास्टिकबाट विषफिनोल रसाउन थाल्छ र यी पदार्थहरूमा मिसिएर हाम्रो शरीरमा पुग्छ । प्लास्टिकले हाम्रो शरीरमा हुने उपस्थिति कैयौँ पुस्तासम्म आफ्नो कुप्रभाव फैलाउन सक्छ ।
प्लास्टिकजन्य फोहोरमैला आज विश्वसामु परमाणु अस्त्रको प्रयोगभन्दा कैयौँ गुना खतरा देखिन्छ । गायर हावा र पानीबाट बनेको यस्तो प्राकृतिक भुमरी हो, जुन उत्तरी गोलाद्र्धमा घडीको सुइको दिशामा घुम्छ । दक्षिण गोलाद्र्धमा विपरीत दिशामा यी भुमरीहरूको गति आफै माध्यमबाट सुस्त हुन्छ । यो त्यही ठाउँ हो जहाँ फोहोर प्लास्टिक जम्मा भइराखेको छ । हाम्रा महासागरमा जम्मा पाँच गायर छन् ।
यिनमा सबैभन्दा ठूलो गायर हो ग्रे पेसिफिक फोहोरमैला क्षेत्र । यस गायरको कुल क्षेत्र १४ लाख किलो मिटर छ । यो सम्पूर्ण विश्वले फ्याँकेको प्लास्टिक फोहोरलाई एकीकरण गर्ने सबैभन्दा ठूलो केन्द्र मानिन्छ । आज हाम्रा महासागरहरूमा कुल ५० लाख वर्ग माइलको सतहमा प्लास्टिकको फोहोर तैरिरहेको छ । यो एउटा विस्फोट स्थिति हो, जुन निरन्तर वृद्धि हुँदैछ ।
प्लास्टिक फोहोरको दुष्परिणाम
प्लास्टिकजन्य फोहोर एकदमै जटिल हुन्छ । यो कहिले पनि नष्ट हुँदैन । यो विनाश नहुने घातक फोहोरका कारण लगभग एक लाखभन्दा बढी दुर्लभ समुन्द्री जीव प्रतिवर्ष मारन्छिन् । समुद्रमा ६० हजारभन्दा बढी प्लास्टिकका झोला हर समय तैरिराखेका हुन्छन् । जुन प्लास्टिकको फोहोरलाई रिसाइक्लिन गरिन्छ । त्यसमा प्रतिटन हजारौँ रुपैयाँ खर्च लाग्छ । जुन त्यसको वास्तविक मूल्यभन्दा धेरै बढी हुन जान्छ । यसरी गरिएको फोहोर रिसाइक्लिनबाट पनि पर्यावरणलाई कुनै ठूलो लाभ प्राप्त हुँदैन । किनभने यो फोहोरको असर हाम्रो शरीरमा प्रवेश गरिसकेको छ ।
एक अध्ययन अनुसार प्लास्टिक बन्ने विष फेनोलले प्रत्येक केटाकेटी, युवा र वृद्धको शरीरमा भेटिन थालेका छ । आजभोलि फलफूल, तरकारी, बच्चाले खाने दूधको बोतल, पानीका बोतल, कोल्ड ड्रिङ्क्सका बोतल र अन्य खाद्ययपदार्थ सम्पूर्ण रूपमा प्लास्टिक माथि निर्भर छन् । समयसँगै यी प्लास्टिकका वस्तुबाट विषफेनोल रसाउन थाल्छ र खाद्य पदार्थमा मिसिएर हाम्रो शरीरमा पुग्छ । यस्ता खानपानका माध्यमबाट प्लास्टिकमा रहेका केमिकलले कैयौँ पुस्तासम्म कुप्रभाव फैलाउँछ ।
बढ्दो जनसङ्ख्या र अदूरदर्शी औद्योगिक विकासका कारण प्लास्टिकजन्य फोहोर बढ्दैछ । यसको नियन्त्रणका लागि कहीँकतै कुनै योजना छैन । देशका नागरिकमा पनि यसबारे आवश्यक जागरुकता छैन । त्यसलाई नियन्त्रण गर्ने सजग र सतर्क प्रशासनिक यन्त्र पनि छैन । सहरबाट प्रत्येक दिन निस्कने हजारौँ टन फोहोर धरतीका लागि खतरा बनिराखेको छ । सडक किनार सर्वत्र फ्यालिएको छरपस्ट फोहोरले पर्यावरणलाई नोक्सान पुर्याइराखेको छ ।यसबाट निस्कने धुवाँले पर्यावरणलाई मात्र नभई जनसमुदायका लागि पनि खतरा बन्दैछ ।
प्लास्टिकजन्य फोहोर बाल्दा निस्किने विषालु ग्यासले कैयौँ प्रकारका रोग उत्पन्न हुन्छ । साथै त्यसले पर्यावरणलाई पनि ठूलो नोक्सान पु¥याउँछ । यो धुवाँ स्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित मानिसका लागि खतरनाक हुन्छ । सबैभन्दा खतरनाक स्थिति के छ भने जमिनमा रहेको प्लास्टिकजन्य फोहोर वर्षातको पानीमा मिसिएर खतरनाक रसायन उत्पन्न हुन्छ । यो रसायनले मानव जातिलाई विनास गर्दै लैजान्छ । यो एकदमै ठूलो समस्या हो । प्रत्येक व्यक्तिले सम्भव भएसम्म प्लास्टिकको उपयोग नगरौँ । प्लास्टिकजन्य फोहोर फैलिन नदिऊँँ ।
पर्यावरणका लागि धेरै नोक्सान पुर्याउने प्लास्टिकको झोलाहरूमा प्रतिबन्ध लगाउनका लागि कानुन त पहिले पनि बनाइएको छ । तर यसको उपयोग प्रभावकारी हुन सकेको छैन । प्रत्येक नागरिकलाई प्लास्टिकको दुरूपयोगबाट हुने खतराबारे सचेत गराउँदै प्लास्टिक उत्पादनमा तत्काल प्रभावकारी रूपले प्रतिबन्ध लगाउनुपर्छ । अझै पनि यो समस्याबारे राज्यको नीति निर्माण र कार्यान्वयन तहका सरोकारवालाले नसोच्ने हो भने आउँदा दिनमा यसको दुष्परिणाम भावी पुस्ताले पनि भोग्नुपर्ने हुन्छ ।
डा. केदार कार्की ।