सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेस पार्टी कार्यालय बाँकेमा लगाइएको ताला खुल्यो

नेपाली कांँग्रेस बाँकेको पार्टी कार्यालयमा लगाइएको ताला १२ दिनपछि खोलेका छन् ।

असन्तुष्ट पक्षसंग शनिबार भएको वार्तामा ताला खोल्ने सहमति भएपछि आइतवार विहान करीब साढे १० बजेतिर ताला खोलेको बाँकेका सचिव सुधाँशु कोइरालाले जानकारी दिए ।

असन्तुष्ट पक्षको तर्फबाट संविधानसभा सदस्य बादशाह कुर्मी, महाधिवेशन प्रतिनिधी सुदिपनरसिंह राणा, जिल्ला सदस्य अशोक श्रेष्ठ, भिमबहादुर बिक लगायतका नेताहरु कार्यालयमा पुगेर आफै ताला खोलेको कोइरालाले जानकारी दिनुभयो । ताला खुलेपछि कार्यालयको कामकाज सुचारु भएको कार्यालय प्रमुख उमेश शर्माले बताए ।

शनिबार केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको उपस्थितिमा दुबै पक्षका नेताहरु बसेर निकास निकाल्न सहमत भएपछि जिल्ला पार्टी कार्यालयमा लगाइएको तालाको विषयमा असन्तुष्ट पक्षले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयहरु कांग्रेस केन्द्रीय कार्यालयमा विचाराधीन रहेकाले यस विषयमा केन्द्रले गर्ने निर्णयमा दुवै पक्ष सहमत भएका थिए ।

आगामी दिनमा पार्टीलाई विधि विधान र पद्धति बमोजिम सबैको सम्मान हुने गरी सञ्चालन गर्ने गरी दुबै पक्ष सहमत पनि भएका छन् । यसबारे दुबै पक्षले केन्द्रमा आवश्यक पहल गर्ने पनि निर्णय भएको छ ।

असन्तुष्ट पक्षले विधि विधान विपरीत जिल्ला कार्यसमितिले विभिन्न मनोनयन गरेको दाबी गर्दै जेठ १८ गते तालावन्दी गरेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतवार १९:३१