मनसुन सिजन सुरु भएपछि बाढीको उच्च जोखिमको सम्भावना हुन्छ । खोला किनार तथा होचा भू–भागमा जुनसुकै बेला बाढीको उच्च जोखिम हुने भन्दै सरकारले यसबाट सुरक्षित रहन विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
बाढी आइहालेमा सबैलाई खबर गर्नुपर्ने र नआत्ती सुरक्षित स्थानमा जानुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
“बालबालिका, महिला, अशक्त, अपाङ्ग, सुत्केरी तथा जेष्ट नागरिकलाई प्राथमिकता दिएर सुरक्षित स्थानमा लैजानुपर्छ,” प्राधिकरणले भनेको छ, “स्थानीय निकाय, सुरक्षाकर्मीलाई खबर गर्नुपर्छ र थप सहयोग र उद्धारका लागि पहल गर्नुपर्छ ।”
बाढी गइसकेपछि महामारी फैलिन नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । आपतकालीन आश्रयस्थलमा बस्दा महिला र पुरुषका लागि छट्टै सौचालयको व्यवस्था गर्नुपर्नेमा प्राधिकरणले जोड दिएको छ ।
डेङ्गी, मलेरिया, काला जारजस्ता रोगबाट बच्न सुत्दा झुलको प्रयोग गर्न आग्रह गरेको प्राधिकरणले अनावश्यक हल्लामा विश्वास नगर्न र आधिकारिक निकायबाट आएको सूचनामा मात्रै विश्वास गर्न भनेको छ ।
“आपत पर्दा जाने सुरक्षित स्थालको पहिला नै पहिचान गर्नुपर्छ । स्थानीय तहमा विपद् पूर्व तयारी कोष खडागरी पानी, औषधीलगायत अत्यावश्यक सामग्रीको जोहो गर्नुपर्छ,” प्राधिकरण भन्छन्, “तालिमप्राप्त स्वयंसेवक समूह बनाउनुपर्छ ।” नेपालमा पूर्वी भू–भागबाट मनसुन सुरु भइसकेको छ ।
केहीदिनमै देशभर मनसुन सुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सत्यपाटी । बाँके ।