सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीका ९ जनामा सिकलसेल र थालसेमिया फेला

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ र ४ का ९ जना व्यक्तिमा सिकलसेल तथा थालसेमिया रोग फेला परेको छ । ५ जनाका सिकलसेल र ४ जनामा थालसेमिया रोग फेला परेको हो ।

स्वास्थ्य कार्यालय बाँकेले ती वडामा सिकलसेल तथा थालसेमिया रोगको स्क्रिनिङ गरिरहेको छ । संकलित ६० जनाको नमुना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ९ जनामा सिकलसेल तथा थालसेमिया रोग फेला परेको भेरी अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिए ।

अव ति परिवारका सदस्यहरुको पनि नमुना जाँच गर्ने तयारी थालिएको छ । राप्तीसोनारीबाट करिव दुई हजार नमुना संकलन गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । दैनिक पचास जनाको नमुना संकलन भइरहेको सिकलसेल ल्याव विज्ञ संजिव चौधरीले बताए ।

थारु समुदायमा बंशानुगतरुपमा रहेको सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि राप्तीसोनारीमा दैनिकरुपमा स्क्रिनिङ तथा परामर्श शिबिर भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले बताउनुभयो ।

पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायमा सिकलसेल तथा थालसेमिया रोग जनस्वास्थ्य समस्याकैरुपमा रहेको छ ।

राप्तीसोनारीमा पनि थारु समुदायको बसोबास बढी रहेकाले सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ तथा परामर्श शिबिर आयोजना गरिएको शाहले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार १९:०१