कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले ढल व्यवस्थापनमा लापर्वाही गरिरहेको नेपालगञ्ज मेडिकल कलेजलाई पत्र काटेका छन् ।
बर्षौंदेखि ढल व्यवस्थापनमा वातावरण प्रतिकूल काम गरिरहेको भन्दै मेयर आचार्यले नेपालगञ्ज मेडिकल कलेजलाई पत्र काटेका हुन् ।
अस्पतालबाट दैनिकरुपमा निष्काशन हुने फोहर पदार्थ र केमिकलजन्य फोहरमैला कोहलपुरस्थित डुडुवा खोलामा ढल विसर्जन भइरहेकोप्रति नगरपालिकाले चासो व्यक्त गरेको हो ।
अस्पतालको घातक फोहर सिधै ढलमा मिसाउँदा वातावरण प्रदुषणसंगै जैविक विविधता नष्ट भइरहेकोप्रति चासो राख्दै मेयर आचार्यले पत्र काटेको बताए ।
“मैले पहिलो पत्र काटेको छु, ढल व्यवस्थापनमा भइरहेको लापर्वाहीलाई नजरअन्दाज गर्न सकिँदैन,“ उनले भने–“बर्षौंदेखि अटेर गरेर दुषित केमिकलयुक्त फोहरमैला खुलेआम नालामा मिसाउनु गम्भीर गल्ती हो, यसमा नगरपालिकाले विशेष चासो दिएको छ ।“ उनले अस्पतालको फोहरमैला व्यवस्थापन एवम् ढल निकास मापदण्ड बमोजिम गर्न सचेत गराएका छन् ।
स्थानीय जनताको पटक पटकको आग्रहलाई अस्पताल स्वयम् तथा यसअघिका मेयर र नगर विकास समितिले बेवास्ता गरेकोमा मेयरमा निर्वाचित भएर आएपछि आचार्यले यो विषयलाई विशेष प्राथमिकता दिएका छन् ।
सत्यपाटी । बाँके ।