सूचनाको शक्ति - The Power Of Information

        

कर्तव्य ज्यान र लेनदेन मुद्दामा फरार दुई जना पक्राउ

अदालतबाट सजाय पाई फरार रहेका दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ बस्ने ३० वर्षीय कोइली भन्ने शिव कुमार बढइलाई प्रहरीले पक्राउ गरेको छ ।

बढईले नसालु पदार्थ सेवन गरी सोमबार नेपालगञ्ज १८ कारकाँदो स्थित ७० वर्षिय लिलावति गुप्ताको पसलमा सामान किन्न गएको बेला समान किन्ने विषयमा विवाद गरी गुप्तालाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएकी गुप्ताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बढई कुटपिट गरी फरार भएका थिए ।

प्रहरीले उनलाई नेपालगञ्ज १५ जमुनाहाबाट पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यस्तै लेनदेन मुद्दामा फरार रहेकी नेपालगञ्ज–२ बस्ने ४५ वर्षीया अनितादेवी बानियालाई प्रहरीले पक्राउ गरेको छ ।

बानियालाई २३ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । २०५६ साल बैशाख ६ गते जिल्ला अदालत बाँकेले लेनदेन मुद्दामा दोषी ठहर गर्दै बानियालाई तीन महिनाको जेल सजाय सुनाएको थियो ।

त्यसपछि उनी फरार थिइन् । पक्राउ परेकी बानियालाई जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार १७:३६