प्रधानमन्त्री शेरबहादुर देउवाले अनिच्छा देखाएपछि मन्त्रिपरिषद् हेरफेर रोकिएको छ ।
एकीकृत समाजवादीका तर्फबाट मन्त्रिपरिषद्मा रहेका चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई समावेश गर्ने तयारी देउवाको आग्रहपछि रोकिएको हो ।
सोमबार गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी देउवाले बजेट पारित नभएसम्म मन्त्री हेरफेर नगर्न सहमत गराएका थिए । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको कारण देखाउँदै मन्त्रीहरू हेरफेर गरिदिन आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले तत्काल हेरफेरको निर्णय व्यावहारिक नहुने बताउँदै पार्टीको समस्या मिलाउन र निर्णय पुनर्विचार गर्न नेपालसँग आग्रह गरेका थिए ।
‘संसद्मा बजेटको विषयमा छलफल भइरहेको छ । तालुक मन्त्रालयको विषयमा उठेका प्रश्न सम्बन्धित मन्त्रीले दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा मन्त्रिपरिषद् हेरफेर व्यावहारिक हुने देखिँदैन,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मन्त्रीहरूलाई फिर्ता गरेर नयाँलाई समावेश गर्ने विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था छ ।’
देउवाले लोसपासँग सरकारमा सहभागी हुने र आगामी निर्वाचनमा तालमेल गर्ने विषयसमेत जानकारी गराएका थिए । त्यसपछि नेताहरू बजेट पारित भएपछि यसबारे छलफल गर्न तयार भएका थिए ।
बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
प्रधानमन्त्री देउवा तत्काल मन्त्रीहरू हेरफेर गरेर कांग्रेसमा असन्तुष्टि बढाउने पक्षमा थिएनन् । उनलाई पाँच महिनादेखि रिक्त रहेको रक्षामन्त्री र अन्यमा हेरफेरको पार्टीबाटै दबाब थियो ।
कांग्रेसका महामन्त्री गगन थापाले सोमबार संसद् बैठकपछि प्रतिक्रिया दिँदै उनले पार्टीभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउन माग आएको संकेत गरे ।
नयाँ पत्रिकाबाट
सत्यपाटी । काठमाडौँ ।