सूचनाको शक्ति - The Power Of Information

        

सामुहिक बलात्कारको आरोपमा बाँकेमा सात जना पक्राउ

बाँकेमा १६ बर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा बैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

फेसबुक मार्फत् चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराज लगायत सात जनाले सामुहिक बलात्कार गरेको बाँके प्रहरीले जनाएको छ ।

किशोरीलाई शुरुमा बाँके–बर्दियाको सीमाना मानखोलाको जंगल र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

मानखोलाको जंगलमा ५ जना र टहरामा लगेर २ जनाले बलात्कार गरेको प्रहरीले बताएको छ । बाँके प्रहरीले हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टा नजिक शंकास्पदरूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई जना पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १८:१७