सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

नेपालमा औसत समयभन्दा अगाडि नै मनसुन भित्रियाे

देशभर फैलन ३ देखि ४ दिन लाग्ने

नेपालमा औसत समयभन्दा आठ दिन अगाडि नै मनसुन प्रवेश गरेको छ ।

सामान्यतयाः जुन १३ तारिखलाई मनसुन भित्रने समय मानिन्छ । गएको वर्ष पनि औसत समयभन्दा अगाडि नै मनसुन नेपाल प्रवेश गरेको थियो ।

 तर यसपटक भने पोहोरभन्दा पनि पाँच दिन अगाडि नेपालमा मनसुन भित्रिएको हो । गएको वर्ष जुन १० तारिखमा नेपालमा मनसुन प्रवेश गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज आइतवार प्रदेश नम्बर १ बाट मनसुनी प्रणाली नेपाल प्रवेश गरेको हो । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन तीनदेखि चार दिन लाग्ने श्रेष्ठले बताउनुभयो ।

गएको वर्ष मनसुन भित्रनेबित्तिक्कै सक्रिय भएर देशभर लगातार वर्षा हुँदा आएको बाढी र पहिरोमा परी देशमा ठूलो जनधनको नोक्सानी भएको थियो ।

यो वर्ष पनि सरदरभन्दा धेरै पानी पर्न सक्ने मौसम पूर्वानुमान भइसकेको छ । मनसुन प्रवेश गरेसँगै सक्रिय हुने सम्भावना पनि धेरै रहेकाले सतर्कता अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गर्नुभएको छ ।

मनसुन बाहिरिने समय भनेको अक्टोबर २ तारिख हो । नेपालमा वार्षिक वर्षाको झन्डै ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्दछ ।

यस अगाडि मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन नेपाल प्रवेश गर्न अझै दुई/चार दिन लाग्ने जनाएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतवार १८:०९