सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

मनसुन केही दिनमा सुरु हुने, अघिल्ला वर्षभन्दा धेरै वर्षा हुने

१० जुन अगाडि नै मनसुन सुरु हुनसक्ने

 यो वर्षको मनसुन केही दिनमा सुरु हुने भएको छ । १० जुन अगाडि नै मनसुन सुरु हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सामान्यतया नेपालमा औसतमा १३ जुनमा मनसुन सुरु हुन्छ । तर, यो पटक केही अगाडि नै मनसुन नेपाल भित्रिने मौसमविद् हीरा भट्टराईले जानकारी दिए ।

उनका अनुसार अहिले मनसुन भारतको चेन्नेइ क्रस भइसकेको छ । उक्त मनसुन विस्तारै नेपाल प्रवेश गर्नेछ । “हामी मौसमी प्रणाली अध्ययन गरिरहेका छौं । केही दिन अगाडि नै हामी यसबारे जानकारी दिने छौं,” मौसमविद् भट्टराईले भने ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ ।

स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणालीमा कुनै पनि समय मौसममा बदली भएर हावाहुरी तथा चट्याङसहित क्षणिक वर्षा हुन्छ । यो मौसमी प्रणालीमा लामो समय पानी पर्दैन ।

मनसुन सुरु भएपछि भने लामो समय देशका धेरै स्थानमा झरी पर्छ । झरी पर्दा खोला तथा नदीमा पानीको बहाव बढ्ने तथा बाढी आउने हुन्छ ।

प्रायः हरेक वर्ष मनसुनमा आउने बाढी तथा तराई क्षेत्रमा हुने डुबानले ठूलो परिमाणमा धनजनको क्षति हुने गरेको छ ।

यसवर्ष धेरै वर्षा हुने
यसपटक नेपालमा विगत वर्षको तुलनामा धेरै वर्षा हुनेछ । विशेषगरी पूर्वी नेपालमा यो वर्ष भारी वर्षा हुने सम्भावना रहेको छ ।

“दक्षिण एसियाको क्षेत्रीय सम्मेलन साफकोपले यो वर्ष विगत वर्षको तुलनामा धेरै वर्षा हुने त्यसमा पनि पूर्वी नेपालमा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ,” मौसमविद् भट्टराई भन्छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतवार ०८:०४