सूचनाको शक्ति - The Power Of Information

        

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ।

विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती र गण्डकी प्रदेशभित्रका सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कानुनबमोजिम कारबाही हुने भनेको छ।

विभागले प्रचलित ऐन तथा नियमको व्यवस्थाबमोजिम सवारीसाधनमा अविलम्ब इम्बोस्ड नम्बर प्लेट जडान गर्न गराउन वाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (साना ठुला सवारी) एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा तथा गण्डकी प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा र मातहतका कार्यालयमा दर्ता भएका सबै सवारीसाधन धनीलाई निर्देशन दिएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान गर्न आलटाल गरेकाले विभागले सचेत गराएको बताए।

‘सवारीधनीले अपेक्षित रूपमा इम्बोस्ड नम्बर प्लेट जडानमा ढिलासुस्ती गरेका छन्। त्यसैले यो काम अविलम्ब गर्न भनेका हौं,’ उनले भने।

महानिर्देशक घिमिरेले गत असारमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि साढे दुई वर्ष म्याद थप गरेकाले जडानमा तदारुकता ल्याउन अनुरोध गरेको बताए।

‘२५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि अब साढे एक वर्ष मात्रै बाँकी छ,’ उनले भने, ‘त्यसैले इम्बोस्ड नम्बर प्लेट जडानलाई द्रुत गतिमा अघि बढाउन ताकेता गरेका हौं।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत कात्तिक २२ गते राजपत्रमा प्रकाशन गरेको सूचनामा मंसिर १ गतेदेखि नयाँ दर्ता सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले पहिलो चरणमा वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक सवारीसाधन, पर्यटन सवारीसाधन, निजी सवारीसाधन, सरकारी र संस्थानका नयाँ दर्ता सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतवार ०७:५५