काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइटलाई गन्धरहित बनाएर फोहोर बिसर्जन गर्ने बताएलगत्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को वैज्ञानिक टोली शनिबार सिसडोल पुगेको छ ।
मेयर साहको आग्रहपछि नास्टले वैज्ञानिक डा. भोजराज पन्तको नेतृत्वमा वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पठाएको हो।गन्ध मापन गर्न नमुना संकलन गरेर फर्किएपछि नेपाल समाचारपत्रसँग कुरा गर्दै डा।पन्तले भन्नुभयो– ‘हामीले सिसडोल ल्यान्डफिल साइटको चार क्षेत्रको गन्ध मापन गर्न नमुना लिएर आएका छौं ।
अब मापन गरेपछि मात्र कति मात्रामा गन्ध रहेको छ भन्ने थाहा लाग्नेछ ।’ उहाँले सम्भवतः सोमबारभित्र नमुना परीक्षण गरिसक्ने जानकारी दिनुभयो ।
गन्धको हानिकारक मात्रा परीक्षणपछि गन्ध हटाउन कुन प्रकारको रसायन प्रयोग गर्ने भन्ने विषयमा निर्णय हुने बताइएको छ । यसअघि शुक्रबार बिहान मेयर साह र उपमेयर सुनिता डंगोल बन्चरेडाँडा ल्यान्डफिल साइट पुग्नुभएको थियो ।
मेयर साह र उपमेयर डंगोललाई भेटेपछि बिमला न्यौपाने, श्रीहरि ढकाल, भजु कान्छुलगायत स्थानीयले आफूले विगतदेखि उठाउँदै आएका माग, अहिलेको अवस्था र आफ्ना चाहना सुनाउनुभएको थियो ।
त्यस क्रममा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले दिगो व्यवस्थापनबाट दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिनुभएको थियो ।
स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले स्थानीयले अघि सारेको चारबुँदे माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान यथावत राख्नुभएको छ । उहाँले शनिबार स्थानीयसँगको छलफलपछि अब आन्दोलन अघि बढाउने तयारीमा रहेको जानकारी दिनुभयो ।
स्थानीयले बन्चरे परिसरमा रहेका १३ गाउँका ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने, व्यवस्थित कम्पनी स्थापना गरी फोहोर व्यवस्थापन गर्नुपर्ने, गुठीको जग्गालाई रैकर बनाउनुपर्ने र फोहोरमैला पीडित स्थानीयलाई रोजगारी दिनुपर्ने माग अघि सारेका छन् ।
सरकारले यसअघि ऐलानीसहित बन्चरेडाँडा ल्यान्डफिल निर्माण र व्यवस्थापन गर्न करिब १ हजार ७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
यी ४ बुँदे मागको विषयमा दर्जनौंपटक सरकारसँग वार्ता गरी सम्झौतासमेत भइसकेको जिकिर गर्दै स्थानीयले ती सम्झौता कार्यान्वयन भए आन्दोलन तत्काल फिर्ता लिने बताएका छन् ।
फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल गर्न मेयर साहले प्रधनमन्त्री शेरबहादुर देउवा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसक्नुभएको छ ।
समस्या समाधान गर्न स्थानीय र महानगरपालिकाबीच सहमति हुनुको विकल्प छैन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।