सूचनाको शक्ति - The Power Of Information

        

राप्ती सोनारीमा सिकलसेलको परामर्श सुरु

सिकलसेल एनिमिया जाँच गरिँदै । फाइल तस्वीर

बाँकेको राप्ती सोनारी गाउँपालिकामा बुधबारदेखि सिकलसेल तथा थालसेमिया रोगको परामर्श शिविर सुरु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा राप्ती सोनारी गाउँपालिका-४, बैजापुरमा सिकलसेल नमूना संकलन तथा परामर्ह शिविर संचालन भएको हो ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले उक्त शिविरको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा १३ वर्षीया किशोरी एलिना थारुको रगतको नमूना संकलन गरिएको थियो ।

उक्त शिविर एक महिनासम्म संचालन रहने स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताएका छन् । उक्त शिविरको दौरान करिब २ हजार नमूना संकलन गरिने श्रेष्ठले बताए । हाल दैनिक शिविरमा दैनिक ५० जनाको रगत नमूनाको लागि संकलन गरिने योजना रहेको छ ।

संकलन गरिएको उक्त नमूना नेपालगन्जमा रहेको भेरी अस्पतालमा चेकजाँच गरिने श्रेष्ठले बताए । श्रेष्ठका अनुसार दैनिक भेरीमा ५० जनाको चेकजाँच गर्ने क्षमता भएका कारण दैनिक ५० नमूनामात्र संकलन गरिने छ ।

संकलन गरिएको नमूनाबाट सिकलसेल रोग देखिएमा भेरी अस्पतालका डा. राजन पाण्डेको नेतृत्वमा स्वास्थ्यकर्मीलाई रोग देखिएको स्थानमा खटाइने श्रेष्ठले बताए ।

उनले भने, ‘भेरी क्षमता कम भएका कारण दैनिक ५० जनाको नमूना संकलन गरिरहेका छौं । नमूनाबाट रोग देखिएमा सोही स्थानमा डाक्टरसहितको टोली पठाइने वा भेरीमा ल्याएर उपचार गर्ने व्यवस्था मिलाएका छौं ।’

सिकलेसेल रोग विशेष गरी थारु समुदायमा देखिने रोग हो । थारु समुदायमा बंशाणुगत रोगको रुपमा रहेको सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ तथा परामर्श शिविर सञ्चालन गरिएको हो ।

पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायमा सिकलसेल तथा थालसेमिया रोगको संक्रमण देखिने गरेको छ ।

राप्ती सोनारीमा पनि थारु समुदायको बसोबास बढी रहेकाले सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ तथा परामर्श शिविर आयोजना गरिएको श्रेष्ठले बताए ।

यसका अलवा सिकलसेल रोक नियन्त्रण गर्न भेरीमा दैनिक २०-३० नमूना परीक्षण गर्ने पनि गरिएको छ । कोहलपुर नगरपालिकाले पनि स्वयम् सिकलसेलको उपचार गरिरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १८:२९