नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नगरको सौन्दर्यप्रति जिम्मेवार बन्न सम्वद्ध शाखा प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
विष्टले बुधबार वातावरण शाखा, सरसफाइ शाखाका प्रमुख तथा सम्बद्ध कर्मचारीलाई बोलाएर नगरको सौन्दर्यकरणमा जोड दिने निर्देशन दिएका हुन् ।
सुर्खेतरोडको ग्रिनरी क्षेत्रमा लगाइएका फुलका विरुवा काँटछाँट गर्नेक्रममा केही फूलसमेत काटिएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि नगर प्रमुख विष्टले नगरको सोन्दर्यकरणका लागि जोड दिएका हुन् ।
विष्टले फूलहरु फुलेको समयमा काँटछाँट गर्ने कार्यले नगरवासीमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै आगामी दिनमा यसखालका नियमित काम गर्दा आफंै सोचविचार गर्न आग्रह गरेका छन् । फूलहरु फुलेको समयमा भन्दा पनि नफुलेको समयमा काँटछाँट गर्न विष्टले कर्मचारीलाई आग्रह गरेका हुन् ।
सम्वद्ध शाखा प्रमुख तथा मालीहरुले भने विरुवाहरुको काटछाँट नियमित प्रक्रिया भएको भन्दै फूल काट्ने भन्दा पनि त्यसको थप सौन्दर्यकरणका लागि आफुहरुले काम गरेको भन्दै आगामी दिनमा फूललाई क्षति हुन नदिन थप सचेत हुने बताए । फूलको संरक्षण र थप सौन्दर्यका लागि फलामे डण्डाभित्र राख्न काटछाँट अनिवार्य गर्नुपर्ने उनीहरुको भनाइ थियो ।
यसैबीच ग्रीन एण्ड क्लिन नेपालगन्ज अभियानले बुधबार नगर प्रमुख प्रशान्त विष्ट समक्ष नेपालगन्जको सौन्दर्यकरण तथा सरसफाइका लागि ३ बुँदे सुझाव दिएको छ ।
अभियानका संयोजक डा. विनोद कणर्को अगुवाईमा रहेको टोलीले सौन्दर्यकरण, सरसफाइ र व्यवस्थित शहरका लागि गर्नुपर्ने काम समेटेर ३ बुँदे सुझाव पेश गरेको छ ।
सो अवसरमा नगर प्रमुख विष्टले नगरको सरसफाइ र सौन्दर्यकरणका लागि आफू गम्भिर रहेको भन्दै ग्रीन एण्ड क्लिन नेपालगन्ज अभियानसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
सत्यपाटी । बाँके ।