सूचनाको शक्ति - The Power Of Information

        

चुनावमा विजयी भएका जनप्रतिनिधिलाई माओवादीले आजदेखि प्रशिक्षण दिने

 नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा विजयी भएका जनप्रतिनिधिलाई आज (बुधबार) देखि प्रशिक्षण दिने भएकाे छ ।

स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादीले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माण लगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम रहेकाे छ ।

कमलपोखरीस्थित पुरानो कुमारी हलमा हुने प्रशिक्षणको बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २ सय ६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्व स्थायी समिति सदस्य सहभागी हुनेछन् ।

पार्टीका शीर्ष नेता, संघीयताविद, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासक लगायतले सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ ।

अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम तय भएकाे छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ०८:४४