सूचनाको शक्ति - The Power Of Information

        

सुन्दर हरिजनको शव बुझ्न मानेनन् आफन्तले

नेपालगञ्ज उपमहानगरपालिका २, दैलेखी बंगलाका २० वर्षीय सुन्दर हरिजनको शव १० दिन वितिसक्दा समेत नेपालगञ्ज मेडिकल कलेजको शव गृहबाट उठ्न सकेको छैन् ।

रोल्पा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका उहाँको शव जेठ ७ गते नेपालगन्ज ल्याइएको हो । कारागार प्रशासनले विजय विक्रम शाहको कैद भुक्तान गर्न रोल्पा पठाएर हत्या गरेको आरोप मृतकका दाई रामकुमार हरिजनले लगाएका छन् ।

रामकुमारले ७ जेठमा रोल्पा कारागारमा भाईको शव बुझेको बताए । उनले भाईले आत्महत्या नगरेको दावी गरेका छन् । छानविन गरि सत्यतथ्य बाहिर नल्याउँदासम्म शब नबुझ्ने परिवारजनले अडान लिएका छन् ।

मृतक सुन्दरको शव नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शब गृहमा राखिएको छ । घटनाबारे छानवीन गर्न बनेको समितिले नेपालगञ्ज र रोल्पा पुगेर अध्ययन तथा सोधपुछ गरेर काठमाडौं फर्किसकेको छ ।

उक्त घटनामा आफ्नै गलबन्दीको पासो लगाएर सुर्खेत वराहताल गाउँपालिका १, घोडाआँखेका २७ वर्षीय विजय बिक्रम शाह शौचालयमा झुण्डिएर आत्महत्या गरेको भन्दै रोल्पा कारागारले उनका आफन्तलाई शव बुझ्न भन्यो ।

शब बुझ्ने क्रममा शाह परिवारले उक्त शब आफ्नो मान्छेको नभएको बताएपछि घटना थप रहस्यमय बनेको हो । कारागारको विवरणमा उल्लेख भएको ब्यक्ति र कैद भुक्तान गर्ने क्रममा मृत्यु भएका ब्यक्ति अर्कै भएको पुष्टि भएपछि मृतकका परिवारले हत्या भएको आशंका गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १७:२४