सूचनाको शक्ति - The Power Of Information

        

तारा एयरको जहाज दुर्घटना

श्रीमती र छोराछोरीसँग छिट्टै फर्किन्छु भनेका राजन मुस्ताङको आकासमै हराए

धनुषाको मिथिला नगरपालिका–११, लोटागाउँका राजन गोले श्रीमती, छोरी र छोराका साथमा ।

आइतबार नेपाली आकाशमा कालो बादल मडारिँदै थियो । सोही समयमा पोखराबाट जोमसोमका लागि तारा एयरको जहाज उड्यो । १९ यात्रुसहित उडेको विमानमा धनुषाका एकै परिवारका सातजना मुक्तिनाथ दर्शनमा गएका थिए ।

स्थानीय निर्वाचनको चटारो सकिएसँगै छोरा राजन गोलेले आमाबुवा, काकाकाकी र मामामाइजूलाई मुक्तिनाथ दर्शनका लागि लैजादै थिए । तर, गोले परिवार गन्तव्यमा पुग्न सकेन । घरमा श्रीमती र छोराछोरीलाई फर्केर आउँछु भन्दै गएका गोले कहिले नफर्किने गरी बिदा भए ।

आइतबार बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविहीन भएको थियो । केहीबेरमै उक्त खबर सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । त्यसलगत्तै नेपाली सेना र प्रहरी टोली हेलिकोप्टरसहित जहाज खोजिमा जुट्यो ।

प्रतिकुल मौसमकै कारण हेलिकोप्टरसहितको टोलीले घटनास्थलको भेउ पाउन सकेन । विमान बेपत्ता भएको खबरले परिवारमा रुवाबासी चलिरहेको थियो । धनुषाको मिथिला नगरपालिका–११, लोटागाउँका राजन गोले, उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ थिए ।

चालक दलका तीन सदस्यसहित पोखराबाट १९ यात्रु बोकेर पोखराबाट जोमसोमका लागि उडेको केहीबेरमै दुर्घटनापछि टुक्राटुक्रा परेको तारा एयरको जहाज ।

राजनको परिवार काठमाडौंको माकलबारी बस्दै आएको थियो । पहिले जया मल्टिपल कलेजका डीआई रहेका उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिए । राजन नेकपा (एकीकृत समाजवादी) पार्टीको जिल्ला कमिटी सदस्य थिए । राजनका मामा मकरबहादुर तामाङ रिटायर शिक्षक हुन् । उनी केहीदिन पहिले मात्रै रिटायर भएका थिए ।

उनी पनि समाजवादीका जिल्ला कमिटी सदस्य थिए । राजनका छिमेकी तथा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो भन्छन्, ‘शनिबार मात्रै राजनसँग कुरा भएको थियो । हामी पोखरामा छौँ । दुईतीन दिनपछि फर्किन्छौँ भनेका थिए । फर्किनै पाएनन् ।’ राजन काठमाडौंमै बसेर नेता महतोको निजी सचिवालयको काम गर्थे ।

मन्त्री महतोका अनुसार जहाज दुर्घटनामा परेका सातैजना गाउँका आफन्त हुन् । ‘राजनका मामा मकरबहादुर तामाङका एक छोरा विदेशमा थिए भने एकजना यतै गाउँमा छन् । घटना थाहा पाएपछि काठमाडौं पठाएका छौँ,’ उनले भने, ‘‘गाउँ नै शोकमा डुबेको छ ।’ राजनका बुवाआमा, श्रीमती, छोराछोरी काठमाडौंमै बस्छन् ।

राजनकी छोरी कक्षा नौ र छोरा दुईमा पढ्छन् । मन्त्री महतोका अनुसार राजनका भाइबुहारी केहीदिन पहिले मात्रै विदेश उडेका थिए । काठमाडौंमा बस्दै आएको राजनको परिवार चुनावमा गाउँ गएको थियो । ‘उहाँहरु सबै चुनावमा गाउँ आउनुभएको थियो । केहीदिन पहिलेमात्रै काठमाडौं जानुभएको थियो,’ महतोले भने ।

प्रहरीले आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित पटकेलेक, सानोसोरामा क्षतविक्षत अवस्थामा जहाज फेला पारेको छ । जहाजमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए । १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिकसहितको जहाजको चालक दलको नेतृत्व क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १३:०६