तारा एयरको जहाज दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका–२ मा १४ जना यात्रुको शव भेटिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्घटनास्थलबाट १४ जनाको शव भेटिएको पुष्टि गरेको हो ।
तर ती सबै शवको पहिचान हुन नसकेको पनि प्राधिकरणले जानकारी दिएको छ । हालसम्म १४ जनाको शव भेटिएको र पहिचान हुन बाँकी रहेको छ । तारा एयरको नाइन एन एइटी ट्विनअट्टर जहाज आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको थियो ।
तारा एयरको जहाज दुर्घटना भएको अहिले ३ जना सेना, चार जना शेर्पा र ९ जना स्थानीयबासीले उद्धार गरिरहेका छन् । चालक दलका तीन जनासहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् । फिस्टेलको हेलिकोप्टरले दुई पटकमा सात जनालाई मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित १४ हजार ५०० फिट उचाइको घटनास्थलमा उनीहरुलाई उतारेपछि उद्धार तथा शव संकलन गरेको थियो ।
घटनास्थलमा यार्सा टिप्न गएका ८ जना र एकजना स्थानीयबासी पनि अहिले उद्धारमा जुटेका थिए । उनीहरुले अहिले छरपस्ट जहाजका टुक्रा र यात्रुका शवहरु संकलन गरेका छन् । जहाजमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए । १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिकसहितको जहाजको चालक दलको नेतृत्व क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले गरेका थिए ।
सत्यपाटी । काठमाडौं ।