सूचनाको शक्ति - The Power Of Information

        

जहाज दुर्घटनामा धनगढीका दुई जनाको ज्यान गयो

तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाउनेमा धनगढीका दुईजना रहेको पुष्टि भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका १४ एच गाँउ फूलबारीका पुरुषोत्तम गोले र ईन्द्रदेवी तामाङ्ग रहेका छन् । उनीहरू श्रीमान् श्रीमाती हुन् ।

गलैंचा उद्योग सञ्चालन गरी काठमाडौं बस्दै आएका पुरुषोत्तम गोलेले धनगढी उपमहानगरपालिका १४ एच गाँउ फूलबारीमा शिद्वार्थ आधारभूत विद्यालय स्थापना गरेका थिए ।

सामाजिक अगुवाका रुपमा पहिचान बनाएका गोलेले विद्यालय स्थापनका बखतमा विना पारिश्रमिक शिक्षक भएर सेवासमेत दिएका थिए ।

‘फूलबारीको एच गाँउमा शिक्षाको विकासमा उहाँको निकै ठूलो योगदान थियो,’ शिद्वार्थ आधारभूत विद्यालयका प्रधानाध्यापक तेजबहादुर पाख्रीनले भने, ‘म पनि उहाँकै शिक्षक हुँ । उहाँ सो विद्यालयका संस्थापक तथा शिक्षकसमेत हुनुहुन्थ्योे,’ प्रधानाध्यापक तेजबहादुर पाख्रिनले भने ।

तत्कालीन फूलबारी गाविसको युवा संयोजक भएका पुरुषोत्तम गोले राजनीतिमा पनि सक्रिय थिए । उनी आफू राजनीतिमा सक्रिय रहेका बेला फूलबारीमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको स्थानीय मेहेश गोले तामाङ्ग बताउँछन् ।

पुरुषोत्तम गोलेको निधनले तमाङ्ग बस्ती रहेको फूलबारीको एच गाउँ नै शोकमा डुबेको बताउँछन् । तत्कालीन राजा वीरेन्द्रको कार्यकालमा २०३६ सालमा दुई बिगाहा पाँच कट्टा जमिन दिएर धनुषाबाट धनगढी स्थानान्तरण भएका थिए ।

उनीसँगै ९७ घरधुरी बसाई सरेर आएका थिए । उनी काठमाडौंमा जोरपाटीमा गलैंचा उद्योग सञ्चालन गर्दै आएका थिए । उनका तीन छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ११:२७