सूचनाको शक्ति - The Power Of Information

        

एक हजार शैय्याको होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

बाँकेको नेपालगन्ज–१४, भवानीयापुरमा बनेको होल्डिङ सेन्टर

कोडिभ–१९ महामारीलाई लक्षित गरी नेपालगन्जमा निर्माणाधीन एक हजार शैय्या क्षमताको होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

उपमहानगर पालिकाको वडा नम्बर १४ भवानीयापुरमा तीव्र गतिमा निर्माण भइरहेको सो होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्रै पूरा हुने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरका अनुसार होल्डिङ सेन्टरमा २२ वटा भवन, भान्साघर, खाने पानीको ट्याङ्कीसहित शौचालय भवनहरू चार बिघा आठ कठ्ठामा निर्माण गरिएका छन् ।

कोरोना महामारीको समयमा भारतबाट आउनेलाई राख्ने गरी होल्डिङ सेन्टर तयार गरिएको भए पनि महामारी नरहेकाले अब आपतविपतमा आश्रयस्थलका रूपमा सो स्थानलाई प्रयोग गर्न सक्ने गरी तयार गरिने अधिकृत सोनकरको भनाइ छ ।

भारतबाट आउने कोभिड–१९ सङ्क्रमितलाई व्यवस्थित रूपमा आइसोलेसनमा राख्ने र आवश्यक परेमा औषधि उपचार गर्ने सुविधासहितको अस्थायी अस्पतालका रूपमा प्रयोग गर्ने उद्देश्यले नेपाली सेनाले नेपालगन्ज नाकामा उक्त होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो ।

२०७७ असोज २६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी २९ करोड ३८ लाख रुपैयाँमा श्री हनुमान कन्स्ट्रक्सन, हेटौँडाले एक हजार शैय्या क्षमताको होल्डिङ सेन्टर निर्माणको ठेक्का लिएको थियो । निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब फिनिसिङ, पाइपलाइन अन्डर ग्राउन्ड गर्ने कार्य मात्र बाँकी रहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सोनकरले निर्माणको करिब ९६ प्रतिशत काम पूरा भएको बताए । कोरोना महामारी समाप्त हुँदै गएकाले अब सो होल्डिङ सेन्टरलाई विभिन्न प्रकारका दैवी प्रकोप र आपतविपतमा आश्रयस्थलका रूपमा प्रयोग गर्ने गरी तयारी भइरहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए ।

उनले कुनै पनि प्रकारको विपतमा उक्त सेन्टरको उपयोग गरिने सहमतिसमेत बनेको बताए । यसैबीच लुम्बिनी प्रदेश स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा.विकास देवकोटाले सो होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेर निर्माण कार्यको जानकारी लिएका छन् । सो अवसरमा उनले छिटो काम पूरा गरेर तयारी अवस्थामा राख्न निर्देशन दिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ०७:३८