सूचनाको शक्ति - The Power Of Information

        

समाचार

तारा एयरको जहाज बेपत्ता खोजी कार्य आजलाई स्थगित

चालक दलका तीन सदस्यसहित पोखराबाट १९ यात्रु बोकेर जोमसोमका लागि ९ः५५ मा उडेर दुर्घटनामा परेको तारा एयरको जहाज ।

पोखराबाट जोमसोमतर्फ जाँदै गर्दा अवतरणको तीन मिनेट अघि बेपत्ता भएको जहाज बेलुकासम्म पनि फेला नपरेपछि भोलि बिहानसम्मका लागि खोजी कार्य स्थगित गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता रथी नारायण सिलवालले दिएको जानकारीअनुसार तारा एयरको बेपत्ता जहाज खोजीमा जुटेको टोली अहिले जहाँ पुगेका छ त्यहीँ रहनेछ । बिहानबाट मात्रै खोजी पुनः सुरु गर्नेछ ।

‘खोजी कार्य आजका लागि रोकेका छौँ । भोलि बिहानबाट सुरु गर्नेछौँ,’ उनले भनेका छन्, ‘टोली जहाँ पुगेको छ त्यहीँ रोकिनेछ ।’ बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको जहाज अहिलेसम्म फेला पर्न सकेको छैन ।

मुस्ताङको मानापाथी हिमालको फेदीमा जहाज भेटिएको स्थानीयले बताएको भन्दै नेपाली सेनाको ६५ जनाको टोली पैदलै त्यसतर्फ प्रस्थान गरेको छ । बाटोमा रहेको नेपाली सेनाको टोली आज त्यहीँ रहनेछ । भोलि बिहानमात्रै अघि बढ्ने उनले जानकारी गराएका छन् ।

उनका अनुसार खराब मौसमका कारण जोमसोम पुगेका हेलिकोप्टर पनि जान सकेनन् । ‘नेपाली सेनाको हेलिकोप्टर जोमसोममा छ,’ उनले भने । नेपाली सेनाका प्रवक्ता रथी सिलवालले खराब मौसमका कारण अघि बढ्न नसकेको बताए ।

उनले भने, ‘आज उड्न नसक्ने अवस्था आयो । अब बिहानैबाट मात्रै हेलिकोप्टर उड्नेछ । अहिले जोमसोममा उपरथी बाबुराम श्रेष्ठसहितको टोली रहेको छ । स्थानीयले जहाज भेटिएको बताएपछि ६५ जनाको टोली अहिले मानापाथी हिमालको फेदीतर्फ अघि बढेको छ ।’

उनका अनुसार मानापाथी हिमालको फेदमा जहाज जलेको अवस्थामा देखेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोली त्यसतर्फ लागेको हो । सम्पर्कविहीन भएको जहाजमा चालक दलका सदस्यसहित २२ जना छन् । तारा एयरले दिएको जानकारीअनुसार जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेका थिए ।

आइतबार नै तारा एयरले दोस्रो विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आज बिहान पोखराबाट जोमसोमको लागि ९ः५५ बजे उडेको तारा एयरको वायुयान सम्पर्कविहीन भएपश्चात स्थल तथा हवाई मार्गमार्फत तीव्ररुपमा खोजी कार्य भइरहेको छ । वायुयान अन्तिमपटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । वायुयान हराइरहेको सम्भावित स्थानहरु न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल वरिपरि खोजबिन कार्य गर्न नेपाली सेना, नेपाल प्रहरी तथा तारा एयरको उद्धार टोली परिचालन गरिएको छ । साथै, नेपाली सेनाको एमआई १७ र फिस्टेल एयरको हेलिकोप्टरमार्फत् पनि खोजी भइरहेको व्यहोरा जानकारी गराउँदछौँ ।’

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १९:४४