सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बेपत्ता खोज्न उडेको जहाज बीचबाटै फर्कियो हेलिकप्टर

फिस्टेल एयरको हेलिकप्टर (नेपाल हेलिकप्टर सर्भिस) ।

जहाज बेपत्ता भएको स्थानसम्म पुग्न नसकेपछि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङ नै फर्किएको छ ।

केहीबेरअघि विमान दुर्घटना भएको आशंका गरिएको धौलागिरि आसपासको क्षेत्रमा हेलिकप्टर पुगे पनि मौसम खराबका कारण आशंका गरिएको क्षेत्रमा पुग्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

‘अहिलेसम्म दुर्घटना शंका गरिएको क्षेत्रमा हेलिकप्टर पुग्नसकेको छैन । तत्काल हिँडेर पुग्नसकिने अवस्था पनि छैन । बाहिर आएका कुरा हल्ला मात्रै हुन् अहिलेसम्म केही खबर आधिकारिक आएको छैन,’ शर्माले भने ।

कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा दुईवटा हेलिकप्टर परिचालन गरिएको छ । नेपाली सेनाको हेलिकप्टर पनि त्यसक्षेत्रमा पुगिसकेको छैन ।

पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

अहिले धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई त्यस क्षेत्रमा केन्द्रित रहन र अलर्टमा रहन निर्देशन दिइएको छ । सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक गरी १९ जना सवार छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १४:०५