सूचनाको शक्ति - The Power Of Information

        

समाचार

‘खराब मौसममा जहाज आएछ भन्दाभन्दै हराएको खबर आयो’

चालक दलका तीन सदस्यसहित पोखराबाट १९ यात्रु बोकेर जोमसोमका लागि ९ः५५ मा उडेर दुर्घटनामा परेको तारा एयरको जहाज ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज अझै फेला पर्न सकेको छैन । सो जहाज मुस्ताङकै थासाङ गाउँपालिका आसपास बेपत्ता भएको बताइएको छ । थासाङ–५ का वडा अध्यक्ष रुपेश तुलाचनले विमान आएको आवाज आफूहरुले सुनेको तर केहीबेरमै सो जहाज हराएको खबर पाएको बताए ।

उनले भने, ‘बिहान हवाईजहाज आएको आवाज सुनेको हो । मैले बुढीसँग कुरा पनि गरेँ, यस्तो मौसममा पनि प्लेन आए छ है भनेर । पछि त हरायो भनेर खबर आयो ।’ प्रहरीसँग समन्वय गर्दा हाम्रै ठाउँ (लेते, कुञ्जो) तिर सो जहाज हरायो भनेर हल्ला आए पनि अहिलेसम्म कहाँ हो, के भयो भन्नेबारे टुंगो नलागेको उनले बताए ।

‘वारीपारीको ठाउँमा बस्ने गोठालाहरूसँग फोन गरेर सोध्दा पनि त्यस्तो केही थाहा नभएको भन्छन्,’ उनले भने, ‘अहिले अत्यन्तै बाक्लो कुहिरो लागेको छ, प्रतिकुल मौसमका कारण केही मिटर टाढासम्म पनि देख्न सकिने अवस्था छैन ।’ यस्तो अवस्थामा कसरी जहाज आयो भनेर आफूहरु चकित भएको भन्दै उनले खोजी कार्यका लागि अहिले मौसम प्रतिकुल रहेको बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १२:१४