सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बेपत्ता जहाज खोजीका लागि मौसम बाधक, उडेन हेलिकप्टर

चालक दलका तीन सदस्यसहित पोखराबाट १९ यात्रु बोकेर जोमसोमका लागि ९ः५५ मा उडेर दुर्घटनामा परेको तारा एयरको जहाज ।

तारा एयरको बेपत्ता भएको ट्वीन अटर जहाज खोजीका लागि मौसम बाधक बनेको छ ।

पोखरा र जोमसोममा होलिकप्टर स्ट्याण्डबाइ अवस्थामा रहे पनि खराब मौसमका कारण जहाज उड्न नसकेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरामा प्रभु एयरलाइन्सको विमान स्ट्याण्डबाइ रहेको छ भने मुस्ताङमा पनि अर्को हेलिकप्टर स्ट्याण्डबाइ रहेको छ ।

मुस्ताङको लेते, टिटी, नाउरीकोट लगायतका स्थानमा जहाज दुर्घटना भएको आशंका गरिएको छ । आइतबार जहाज १० बजेर १५ मिनेटमा पोखराबाट जोमसोमका लागि टेकअफ भएको थियो ।

तारा एयरको ‘एइटी’ ट्वीन अटर जहाज लेते क्रस भएपछि सम्पर्कविहीन भएको थियो । जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।

साथै जहाजमा इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १२:०८