सूचनाको शक्ति - The Power Of Information

        

राजनीति गर्ने शिक्षकमाथि कडाइ गर्दै जनप्रतिनिधि

मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिधिहरु शिक्षण पेशामा रहेर राजनीतिमा सक्रिय रहेकाविरुद्ध कडाइका साथ प्रस्तुत भइरहेका छन् ।

वैशाख ३० मा सम्पन्न निर्वाचनबाट निर्वाचित विभिन्न स्थानीय तहका प्रमुखहरु शिक्षण पेशासँगै विभिन्न दलमा आवद्ध भएर सक्रिय राजनीति गर्दै आएकाहरु विरुद्ध कडाईका साथ प्रस्तुत हुने क्रम बढ्दै गएको छ ।

बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आबद्ध सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजीनामा दिन निर्देशन दिएको एक साता नपुग्दै दार्चुलाको मालिकार्जुन गाउँपालिकाले पनि शिक्षकको राजनीतिक दलसँगको आबद्धता निषेध गर्ने निर्णय गरेको छ ।

जेठ १३ गते बसेको गाउँकार्यपालिकाको बैठकले शिक्षक तथा कर्मचारीहरुको राजनीतिक दलसँगको आबद्धता निषेध गर्ने निर्णय गर्दै दलमा आवद्ध शिक्षक, कर्मचारीलाई सात दिनभित्र दल त्याग गर्न निर्देशन दिएको छ ।

अध्यक्ष हिरासिंह धामीले गाउँपालिकाभित्रका शिक्षक तथा कर्मचारीहरुलाई सात दिनभित्र दलको सदस्यता त्याग गरेर गाउँपालिका कार्यालयलाई जानकारी गराउन निर्देशन दिएको बताए । उनले गाउँपालिकाको निर्देशन अटेर गरिए प्रचलित कानुनबमोजिम कारबाही गरिने समेत बताए । शिक्षक पेशामा रहेकाहरु नै विभिन्न दलका विभिन्न कार्यसमितिमा बसेर पार्टी काममा सक्रिय देखिएकाले दल त्यागका लागि निर्देशन दिइएको बताए ।

यसअघि बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले सामुदायिक विद्यालयहरुलाई पत्र काटेर राजनीतिक दलको कार्यकारीणी पदमा रहेका शिक्षकलाई एक साताभित्र राजीनामा गर्न लगाउन निर्देशन दिएका थिए । उनले दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरुको राजीनामाको विवरण सात दिनभित्र नगरपालिकामा बुझाउन पनि भनेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार ११:३२