सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रचण्डको खतरनाक रणनीति बाहिरियो, एमालेलाई धक्का

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले खतरनाक रणनीति बनाएको पाइएको छ । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धक्का दिने गरी नयाँ रणनीति बनाएको पाइएको हो ।

प्रचण्डले नेकपा एमालेलाई आसन्न चुनावमा तेस्रोमा झार्ने रणनीति बनाएका हुन् । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको छ ।

वर्तमान सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिएर संघीय संसद्को निर्वाचनमा एमालेभन्दा ठूलो शक्तिको रूपमा उदाउने दाउपेचमा माओवादी लागेको छ । स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका आन्तरिक बैठक र छलफलमा प्रदेशसभा र संघीय प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेससँग मिलेर जानुपर्ने भएकाले एमालेभन्दा ठूलो दलको रूपमा शक्ति आर्जन गर्नेगरी योजना बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिइसकेका छन् ।

दाहालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई खुमलटारमा भेट्ने क्रममा पनि अहिलेको सत्ता गठबन्धन सफल भएको बताएका थिए । त्यतिमात्र होइन, सार्वजनिक कार्यक्रममा पनि उनले वर्तमान सत्ता गठबन्धन सफल भएको बताउँदै कांग्रेसको साथ नछाड्ने संकेत गरेका छन् ।

‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो । मूलभूत रूपमा सत्ता गठबन्धन सफल भएको छ । यो गठबन्धनलाई प्रदेशसभा र संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन तथा त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि अघि बढाउने संकल्प हो । यसमा हामी गठबन्धन दल दृढ छौँ,’ जनप्रतिनिधिसँगको भेटमा दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।

उनले शनिबारदेखि निरन्तर यही कुरा दोहोर्याउँदै आएका छन् । ‘खासगरी सहरी क्षेत्र नजिक रहेका पालिकामा पनि माओवादीले स्थानीय तहमा सफलता हासिल गरेको छ । यसलाई उपयोग गरेर कांग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा जानुपर्छ भन्ने अध्यक्ष दाहालको लाइन छ । माओवादी यसै लाइनमा अघि बढ्नेछ,’ माओवादी एक नेताले भने ।

माओवादीले काठमाडौं आसपासका नुवाकोट, काभ्रे, मकवानपुरमा पनि केही स्थानीय तहमा सफलता हासिल गरेको छ । त्यसैगरी एमालेको गढ मानिएको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये माओवादी केन्द्रले एमालेकै हाराहारीमा स्थानीय तह जितेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा लुम्बिनीका ३३ पालिका प्रमुख जितेको कांग्रेसले यसपटक ४६ वटामा प्रमुख जितेको छ ।

लुम्बिनीमा अघिल्लोपटक ४३ स्थानीय तहको प्रमुख जितेको एमालेले यसपटक २६ प्रमुख जितेको छ । त्यस्तै माओवादीले २५ पालिकाको प्रमुख जितेको छ । यसबाट माओवादी निकै उत्साही भएको छ । कांग्रेससँग मिलेर माओवादीले सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो पकड देखाएको छ । यसअघि सुदूरपश्चिममा माओवादी निकै कमजोर थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार ०९:४९