सूचनाको शक्ति - The Power Of Information

        

बेरोजगारीको बाध्यता

मतदानपछि रोजगारीका लागि भारत फर्किंदै नेपाली

स्थानीय तह निर्वाचनमा सहभागि भएर फेरि भारत फर्किंदै गरेका नेपाली ।

स्थानीय तह निर्वाचनमा सहभागि हुन स्वदेश फर्किएका नेपालीहरु निर्वाचन सकिएलगत्तै रोजगारीका लागि पुनः भारत फर्किन थालेका छन् ।

सोही कारणले अहिले यहाँस्थित नेपाल–भारत सीमानाका जमुनाहामा रोजगारीका लागि भारततीर जाने नेपाली युवाको अत्याधिक भीड छ ।

मतदानमा सहभागि हुन स्वदेश फर्किएका नेपालीहरु फेरि रोजगारीका लागि भारतका विभिन्न ठूला सहरहरुमा जान लागेका कारण अहिले नाकामा दैनिक भारत फर्किनेको ठूलो सङ्ख्या देखिएको जमुनाहा प्रहरीले जनाएको छ ।

केही समयअघि उनिहरु आउँदा नाकामा देखिएको भीड अहिले फेरि देखिन थालेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ सई माधव रिजालले बताए । उनले अहिले दैनिक १२ सयदेखि १५ सयसम्म नेपाली युवाहरु रोजगारीका लागि भारतका विभिन्न सहरहरुमा फर्किने गरेको बताए ।

वरिष्ठ सई रिजालका अनुसार ती सबै केही दिन अघिमात्रै स्थानीय तह निर्वाचनमा मतदान गर्न नेपाल आएका थिए । सीमापारी रुपैडिहामा किनमेलका लागि दैनिकजसो जाने नेपालीले गर्दा सधैँ भीड हुने जमुनाहा नाकामा अहिले भोट हालेर पुनः काममा फर्किरहेका नेपालीको घुँइचो लागेकोले अत्याधिक भीडभाड बढेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार नेपालगन्ज नाका भएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका युवाहरु भारतका विभिन्न सहरमा कामका लागि जाने गर्छन् । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सल्यानका सबैभन्दा बढी युवाहरु यही नाकाबाट भारत जाने र फर्किने गर्दछन् ।

भारतको सिमला, हरिद्वार, प्रयागराज, अमृतसर, चण्डीगढ, जयपुर र अहमदाबाद लगायतका सहरमा नेपालीहरु रोजगारीका लागि फर्किरहेका छन् । रोजगारीका लागि भारत पसेका नेपाली युवाहरु चाडपर्व, खेतीको बेला र निर्वाचनको समयमा केही दिनका लागि स्वदेश आउने गर्छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार ०७:२४