श्री सुन्दरकाण्ड मित्र मण्डल अंजनी माता रसोईले बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख प्रशान्त विष्ट र नगर उप प्रमुख कमरूद्दीन राईलाई स्वागत तथा अभिनन्दन गरेको छ ।
भेरी अस्पताल परिसरमा नगर प्रमुख र उपप्रमुख सहित नेपालगन्जका २३ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यलाई स्वागत तथा अभिनन्दन गरिएको हो ।
अन्जनी माता रसोईले कोभिड संक्रमणका बेलामा भेरी अस्पतालमा भर्ना भएका विरामी तथा कुरुवाका लागि २० रुपैयाँमा पेटभरी खान पाउने ब्यवस्था सुरु गरेको थियो ।
नेपालगन्जका समाजसेवीको अग्रसरतामा सुरु गरिएको उक्त कार्य अहिले पनि जारी छ । अन्जनी माता रसोईले गरेको उक्त कार्यको प्रशंसा भइरहेको छ ।
नगर प्रमुख विष्ट समेत जोडिएको उक्त काममा निर्वाचित भइसकेपछि पदभार ग्रहणकै दिन पहिलो निर्णय गरेर अन्जनी माता रसोईलाई १ लाख रुपैयाँ प्रदान गरेका थिए ।
स्वागत तथा अभिनन्दन कार्यक्रममा नगर प्रमुख विष्टले अन्जनी माता रसोईले भेरी अस्पताल परिसरमा सहुलियत दरमा खाना खुवाएर मानविय कार्य गर्दै आएको बताए । यस्तै उपप्रमुख राईले अन्जनी माता रसोइलाई सहयोग गर्न सबै समुदायलाई आब्हान गरे ।
समाजसेवी कन्हैयालाल वैद्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ उद्योगी प्रदीप छाजेड, समाजसेवी वृजेशबहादुर सिंह, मधेशी आयोगका अध्यक्ष विजय गुप्ता, अन्जनी माता रसोईका प्रबन्धक जितेन्द्रसिंह ठाकुर, नवनिर्वाचित वडाअध्यक्ष, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो ।
सत्यपाटी । बाँके ।