सूचनाको शक्ति - The Power Of Information

        

कपासको मूल्य एक हजार रुपैयाँले बढ्यो

बाँकेको खजुरामा रहेको कपास विकास समितिले कपासको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ ।

समितिका अध्यक्ष हेमन्तराज काफ्लेको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले समितिले खरिद गर्ने कपासको मूल्य प्रतिक्विन्टल एक हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

समितिका कार्यकारी प्रमुख बुद्धबहादुर थापाका अनुसार कपास खेती विस्तार र उत्पादन बढाउन मूल्य वृद्धि गरिएको हो ।

प्रतिक्विन्टल ८५०० रुपैयाँमा किसानबाट कपास खरिद गरिरहेको समितिले अबदेखि ९५०० रुपैयाँमा दानासहितको कपास खरिद गर्ने समितिका अध्यक्ष हेमन्तराज काफ्लेले बताए ।

केही वर्षअघिसम्म कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका धेरै किसानले कपास खेती गर्थे तर बिक्री घट्दै गएपछि र उचित मूल्यसमेत नपाएपछि किसान कपास खेती गर्न छोडेका छन् ।

यसले गर्दा कपास खेती गरिने क्षेत्रफल र उत्पादन घट्दै आएको छ । हाल दाङ जिल्लाको ९० बिघामा मात्र कपास खेती सीमित भएको छ । दाङको लमहीको वडा नं. ७, ८ र ९ तथा राजपुरको वडा नं. १, २, ३, ५, ६ र ७ मा कपास खेती गरिन्छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार १०:३८