सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

काठमाडौंमा भत्कियो एमालेको विरासत, सुरु भयो बालेनको ‘अग्नीपरीक्षा’

कांग्रेस र एमालेका वडाध्यक्ष भन्छन्, ‘बहुमत अल्पमत होइन, जनमतको कदर गर्छौं ।’

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन् । बालेन ६१,७६७ मत पाएर विजयी भएका हुन् । दोस्रो बनेकी गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८,३४१ मत प्राप्त गरिन् ।

सिर्जनालाई बालेनले २३,४२६ मतान्तरले पराजित गरेका हुन् । तेस्रो बनेका एमाले केशव स्थापितले ३८,११७ मत पाए । बालेन एमालेको विरासत भत्काएर मेयरमा निर्वाचित भएका हुन् । एमालेका स्थापित ०५४ मा निर्वाचित काठमाडौंका पूर्वमेयर हुन् ।

०७४ को स्थानीय तह निर्वाचनमा एमालेका विद्यासुन्दर शाक्यले ६४,९१३ मत पाएर काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५,२६९ र माओवादी केन्द्रका सर्वाेत्तम दास डंगोलले ७,९०६ मत पाएका थिए ।

शाक्यले प्रतिस्पर्धीलाई १९,६४४ मतान्तरले पराजित गरेका थिए । बालेनले गठबन्धनका तर्फबाट कांग्रेसकी सिंह, एमालेबाट स्थापित, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठ, विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटा, स्वतन्त्र उमेदवार सुमन सायमीलगायत ५० जनालाई पराजित गरे ।

त्यस्तै, काठमाडौं महानगरपालिकाको उपमेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरले विजयी भएकी छन् । पूर्वमिस नेवासमेत रहेकी डंगोल ४४,८०६ मतान्तरले विजयी भएकी हुन् । डंगोलले ६८,६१२ मत पाउँदाउनका निकटमत प्रतिद्वन्द्वी सत्ता गठबन्धनका रामेश्वर श्रेष्ठले २३,८०६ र स्वतन्त्र उमेदवार विद्या श्रेष्ठ (महर्जन)ले १३,६९५ मत पाइन् ।

०७४ को स्थानीय तह निर्वाचनमा महानगरको उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीले ५८,९५२ पाएर निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजाराम श्रेष्ठले ३४, ८५४ र माओवादीकी शुसिला कुमारी पौडेलले १०,४४८ मत पाइकी थिइन् ।

वडामा कांग्रेसको बहुमत

काठमाडौं महानगरपालिकाका कुल ३२ वडामध्ये १९ वडामा जित हासिल गरेर कांग्रेसले बहुमत प्राप्त गरेको छ । वडा नम्बरमा कांग्रेसका ६ मा भुवन लामा, ७ मा विमलकुमार होडा, ८ मा आशामान संगत, ९ मा रामजी भण्डारी, १० मा रामकुमार केसी, ११ मा हिरालाल तण्डुकार, १२ मा बालकृष्ण महर्जन र १४ मा सुमन श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै वडा नम्बर १६ मा मुकुन्द रिजाल, १७ मा नविन मानन्धर, १९ राजेश श्रेष्ठ, २० राजेन्द्र मानन्धर, २४ मा विनोद कुमार राज भण्डारी, २५ मा राजेश डंगोल, २६ मा ख्यामराज तिवारी, २७ योगेशकुमार खड्गी, २८ मा भाइराम खड्गी प्रकाश, २९ मा कुश ढकाल, ३० मा दलबहादुर कार्की विजयी भएका छन् ।

त्यस्तै, एमालेले वडा नम्बर १ को वडाध्यक्षमा एमालेका भरत लाल श्रेष्ठ, २ मा राजेन्द्र कुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा विरेन्द्र प्रजापति, १३ मा ध्रुवनारायण मानन्धर, १८ मा न्हुछेकाजी महर्जन, २१ मा उदय चुडामणी बज्राचार्य, २२ मा चिनीकाजी महर्जन, २३ मा मचाराजा महर्जन, ३१ मा सरोज ढकाल र ३२ मा नवराज पराजुली निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवा)दीका ईश्वरमान डंगाल वडा नम्बर १५ को वडाध्यक्षमा निर्वाचित भए ।

बालेनका ऐजेन्डा

बालेन चुनावी मैदानमा उत्रँदा २८ बुँदे प्रतिवद्धता जनाएका थिए । उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात र यातायात व्यवस्थापन, खानेपानी व्यवस्थापन, महिला तथा बालबालिका, पर्यटन, प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन, संस्कृति सम्पदा संरक्षण, कृषि खेलकुद, खुला ठाउँ र हरियाली कायम राख्ने, होम डेलिभरी र आइडिया बैंक स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यस्तै दक्ष उद्यमशिलता र इनोभेसन केन्द्र, नेपाल भाषा रञ्जना लिपी र नेपाल संवत्को प्रवर्द्धन, ग्रेटर नेवा ः भ्याली काँस्मोपलिटन, प्रशासन र व्यवस्थापन, भ्रष्टाचार विरोधी ब्युरो, मेट्रो साइबर ब्युरो, कल सेन्टर, प्रकोप जोखिम व्यवस्थापन, स्वास्थ्य विमा, मानसिक स्वास्थ्य सहायता लाइन र सुरक्षा लगायतका बालेनका प्रतिवद्धताहरू रहेका छन् । प्रदेश सरकार र केन्द्रीय सरकारको नतिजा देखिने स्थानीय तह पनि यही महानगरपालिका हो । संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी बजेट आउँछ ।

कांग्रेस र एमालेका वडाध्यक्ष भन्छन्, ‘बहुमत अल्पमत होइन, जनमतको कदर गर्छौं’

कतिपय मानिसहरूले वडाको बहुमत र अल्पमतले बालेनलाई महानगरमा काम गर्न चुनौती रहेको बताउँदै आएका छन् । तर, वडाध्यक्षको राय बुझ्दा बालेनलाई महानगरका वडाध्यक्षहरूले साथ दिने बताइरहेका छन् । एमालेबाट निर्वाचित वडाध्यक्षहरूले स्थानीय जनप्रतिनिधिले स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर काम गर्नुपर्ने भएकाले काम गर्नलाई स्वतन्त्र र पार्टीको नेतृत्वलाई कुनै पनि फरक नपार्ने बताएका छन् ।

त्यस्तै, कांग्रेसका वडाध्यक्षहरूले पनि जनताले चाहेको नेतृत्व र जनमतको कदर गर्ने गरी बालेनसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा तेस्रो पटक कांग्रेसबाट निर्वाचित वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले महानगर बनाउन आएका सबै प्रतिनिधि मिलेर काम गर्ने बताए । ‘सबै जनप्रतिनिधिहरू महानगरपालिका बनाउने भनेर नै आएका हौँ । महानगर बनाउन प्रस्ताव आयो भने हामीले सहयोग गर्छौं,’ उनले भने ।

काठमाडौं महानगरको वडा नम्बर–४ मा निर्वाचित भएका एमालेका दिनेश महर्जन महानगरवासीले यसपटक नयाँ अनुहार खोजेकाले नेतृत्व बालेनको काँधमा आएको बताउँछन् । बालेनलाई जनमत दिइसकेपछि बहुमत वा अल्पमतले काम गर्न कुनै बाधा नगर्ने उनले बताए । जनताले पुरानै नेतृत्वलाई नपत्याएर नयाँ नेतृत्व खोजेको वडाध्यक्षहरूको प्रक्षेपण रहेको छ । सबैभन्दा धेरै जनसंख्या भएको महानगरपालिकामा बालेनले कस्तो काम गर्लान भन्नेमा उनको अग्नीपरीक्षा सुरु भएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार १०:०७