सूचनाको शक्ति - The Power Of Information

        

धेरै ठाउँमा दिउँसोपछि हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको छ ।

तर, दिउँसो पछि फेरि मौसम बद्ली भइ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद् हिरा भट्टाराईले जानकारी दिनुभयो ।

हिजो पनि दिउँसोपछि काठमाण्डौ उपत्यकालगायत धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भएको थियो । ढलको उचित व्यवस्थापन नहुँदा वर्षापछि काठमाण्डौका कपन, कलङ्की, बल्खु लगायतका केही ठाउँका सडक जलमग्न भएका थिए ।

सडकमा बाढी पसेपछि गाडीको आवागमन नै प्रभावित भएको थियो । यसैबीच, प्रि मनसुन अन्तिम अन्तिम चरणमा आइपुगेको छ ।

अब मनसुन सुरु हुने बेलासम्मकै मौसम यस्तै रहने मौसमविद् हिरा भट्टराईले बताउनुभयो । सामान्यतया नेपालमा जुनको पहिलो दोस्रो हप्तामा मनसुन भित्रन्छ ।

पोहोर मनसुनी अवधिको समय परिमार्जन गरिएको थियो । त्यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो।

तर, पोहोर त्यसलाई परिमार्जन गरेर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको थियो ।

यसपालि मनसुनमा सरदर भन्दा धेरै नै पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार ०७:५५