सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभामा नीति तथा कार्यक्रमाथि छलफल, कसले के भने ?

 संघीय संसदको राष्ट्रिय सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्ना धारणाहरू गरेका हुन् ।

छलफलमा बोल्दै संयुक्त संशोधन कर्ता भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको भन्दा कमजोर नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।

नीति तथा कार्यक्रमको बुँदा १३५ मा राखिएको वस्तुगत आधार भनेको सबै जनताले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) हुँ भन्नुपर्ने हो भन्दै प्रश्न गर्नुभयो ।

त्यस्तै संयुक्त संशोधन कर्ता शेखरकुमार सिंहले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा आउँदा सप्तरीमा आउन नसकेको गुनासो गर्नुभयो ।

बुँदा ६० मा इनरुवादेखि बेली भन्सारसम्मको अन्दाजी १४ किलोमिटर सडकलाई विस्तार तथा पुनः निर्माण गर्नुपर्ने मा नीति कार्यक्रममा नै नहुनु दुःखद् भएको उहाँले बताउनुभयो ।

त्यस्तै संयुक्त संशोधनकर्ता भगवती न्यौपानेले सरकारले ल्याएको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको बताउनुभयो ।

उहाँले आफैंले ल्याएको नीति तथा कार्यक्रममा पनि सत्ता पक्षकै सांसदहरू उत्साहीत नरहेकोले सरकार गलत ढंगले हिँडिरहेको आरोप लगाउनुभयो ।

न्यौपानेले राष्ट्रियताको बारेमा बुँदा ७७ मा आपत्तिजनक कुरा उठाइएको पनि बताउनुभयो । उहाँले उर्जा विस्तारको निम्ति नेपाल र भारतले संयुक्त रूपमा जारी गरिएको कुरा लम्पसारवादको उत्कृष्ट नमूना भएको आरोप लगाउनुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले नीति तथा कार्यक्रमको बुँदा ७२ मा एक घर एक धारा पु¥याउने बुँदा रहेको भए पनि ४ लाख ६६ हजार मात्रै भनिएकोले त्यतिमा मात्रै सीमित किन भनि प्रश्न गर्नुभयो ।

उहाँले खानेपानी उच्च र मध्यम जस्ता कुराहरू गरिएकाले त्यसलाई सच्याउन माग गर्नुभयो । सरकारले नीति तथा कार्यक्रममा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा मिचिएका क्षेत्रलाई फर्काउने कुरा नगरेको बताउनुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य कमला पन्तले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउनुभयो । नीति तथा कार्यक्रममा उत्पादन र उत्पादक्त्व वृद्धि, रोजगारी सिर्जना, आय, असमानता, सुशासनका कुराहरूलाई जोड दिएको उहाँको भनाइ छ ।

पन्तले सरकार महंगी नियन्त्रणमा स्पष्ट हुनुपर्ने माग राख्नुभयो । उहाँले हरेक वडामा महिला विकास कार्यालय खोलनुपर्ने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले नीति तथा कार्यक्रम झुटको सहारामा बनाइएको आरोप लगाउनुभयो । उहाँले नीति तथा कार्यक्रममा अघिल्लो सरकारले रेलका कुरा गर्दा खिल्ली उडाएपनि अहिले त्यसलाई प्राथमिकता दिएकोमा खुशी लागेको धाराणा राख्नुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले नीति तथा कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले उद्योगधन्दा र जडिबुटीको क्षेत्रलाई जोड दिनुपर्ने बताउनुभयो । नीति तथा कार्यक्रममा आदिवासी र जनजातीको कुरा उठाउन सरकारले कन्जुस्याँइ गरेको उहाँको आरोप छ ।

त्यस्तै राष्ट्रिय सभा सदस्य डा.वेदुराम भुसालले अघिल्लो सरकारले बाँडेका सपना जस्तो नभइ सपना चिर्ने गरेर नीति तथा कार्यक्र आएको बताउनुभयो । उहाँले सरकारले नयाँ उद्योग खोल्ने नीति कार्यक्रम नल्याएको, कृषि उपजमा उद्योग खोल्ने नीति नबनाएको, जडिबुटीको खेती, प्रशोधन गर्ने उद्योगहरु खोल्न ध्यान नदिएको बताउनुभयो ।

भुसालले नेपालमा अब मल कारखाना खोल्न सक्नुपर्ने धारणा राख्नुभयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान नगएको, विद्युत उपयोगमा नीति ल्याउन नसकेको, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो फिर्ता ल्याउँछौँ भन्न नसकेको बताउनुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले अहिलेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, रोजगारीलाई समेटेर आएको बताउनुभयो । सरकारले सुदूरपश्चिम क्षेत्रमा नीति तथा कार्यक्रममा लापरबाही गरेको उहाँको भनाइ छ ।

त्यस्तै राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले मिथिला भूमिलाई मिथिला कृषि नमूना क्षेत्र घोषणा गरेर सिंचाईको व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले सरकारको नीति तथा कार्यक्रममा बाली बीमाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ठूला शहरमा भएका फोहारबाट मोहोर निकाल्न सक्ने गरी नीति ल्याउनुपर्ने बताउनुभयो ।

त्यस्तै राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले नीति तथा कार्यक्रममा धेरै पक्षहरू समेटिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा नेपाल र भारतको सम्बन्ध सुमधुरभनिएपनि भनिएजस्तो नभएको बताउनुभयो ।

विश्वकर्माले सीमाका बारेमा नेपालले अन्तर्राष्ट्रिय अदालतमा कुरा उठाउन आवश्यक रहेको बताउनुभयो । प्रदेश विघटन गरी त्यसको खर्च विकास निर्माणमा लगाउनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, उत्पादन, रोजगारी लगायत समग्र क्षेत्रलाई समेटेको भन्दै समर्थन गर्नुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य युवराज शर्माले बाँके जिल्लामा कृषिको प्रचुर सम्भावना रहेको भन्दै नीति तथा कार्यक्रममा बाँके जिल्लामा कृषि विश्व विद्यालय खोल्न माग गर्नुभयो । उहाँले निजी विद्यालयले शिक्षाको नाममा गरिरहेको व्यापारीकरणलाई निरीक्षण गर्नुपर्ने उहाँको माग छ ।

त्यस्तै राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले नीति तथा कार्यक्रम विगतको भन्दा प्रगतिशील भएको दाबी गर्नुभयो । उहाँले यो नीति कार्यान्वयन भए समुन्नत नेपालको कल्पना पूरा हुने बताउनुभयो । हरेक वडामा शिशु स्याहार केन्द्रको स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले केही मन्त्रालयहरूले वडा तहका कामलाई पनि आफ्नो अधिनमा राख्नु दुःखद् भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता नदिएको गुनासो गर्नुभयो ।

देवकोटाले सरकारले हरेक वर्ष नीति अनुसार काम नगर्दा विमानस्थल तुहिएर जान्छ कि भन्ने डर पैदा भएको बताउनुभयो ।

त्यस्तै राष्ट्रिय सभामा अन्य सदस्यहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । सदस्य तुलसाकुमारी दाहालले नीति तथा कार्यक्रम जनताको चाहना र आवश्यक्ता विपरीत भएको बताउनुभयो ।

यस्तै, सदस्य भुवनबहादुर सुनुवार, नन्दा चपाईं, प्रकाश पन्त, गंगाकुमारी बेलवासे लगायतले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो ।

राष्ट्रिय सभाको बैठक सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले शुक्रवार ११ बजेका लागि पुनः बोलाइएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १७:५५