सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनले बनायो पदविहीन

प्रदेशसभाबाट राजीनामा दिएर चुनाव लडेका ६ सांसद पराजित

सांसदबाट पनि राजीनामा दिइसकेको र स्थानीय तहमा पनि नजितेको स्थितिमा उनीहरु पदविहीन बनेका छन् ।

स्थानीय तहको प्रमुख बन्ने होडबाजीमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका नेताहरु मतदाताको मन जित्न असफल भएका छन् । सांसदबाट पनि राजीनामा दिइसकेको र स्थानीय तहमा पनि नजितेको स्थितिमा उनीहरु पदविहीन बन्न पुगेका छन् ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका लागि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका अधिकांश नेताहरु पराजित भएका छन् । पराजित हुनेमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका चार जना, सत्तारुढ नेपाली कांग्रेसका एकजना र सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका १ गरी ६ जना निवर्तमान प्रदेशसभा सदस्य छन् ।

काठमाडौँ महानगरमा केशव स्थापित, भरतपुर महानगरपालिकामा विजय सुवेदी, पोखरा महानगरपालिकामा कृष्ण थापा र इलामको सूर्याेदय नगरपालिकामा काजीमान कागते एमालेबाट पराजित हुने निवर्तमान प्रदेशसभा सदस्य हुन् । स्थापित र सुवेदी बागमती प्रदेशसभा सदस्य थिए । थापा गण्डकी प्रदेश सभाका सदस्य थिए ।

कागते प्रदेश १ को प्रदेशसभाबाट राजीनामा दिएर नगर प्रमुखका लागि चुनावी मैदानमा होमिएका थिए । काठमाडौँ महानगरको अन्तिम मत परिणाम आउन बाँकी भए पनि एमाले उम्मेदवार केशव स्थापित पराजित हुने निश्चित देखिएको छ । ३२ वडा रहेको कामपामा ३१ वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । अब वडा नं. १४ को मत परिणाम आउन बाँकी छ ।

यस वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आजै साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ । अहिलेसम्मको मतपरिणामअनुसार काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको तिज सुनिश्चित भइसकेको छ । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका केशव स्थापित पराजित हुने निश्चित छ ।

पोखरा महानगरपालिकामा प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थापालाई हराउँदै नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य महानगर प्रमुखमा विजयी भइसकेका छन् । आचार्य ५८ हजार ८९३ मतका साथ विजयी हुँदा दोस्रो भएका थापाले ५२ हजार ८४८ मत पाएका छन् ।

प्रदेशसभाबाट राजीनामा दिएर भरतपुर महानगरको प्रमुखमा प्रतिस्पर्धा गरेका निवर्तमान सांसद सुवेदी १२ हजार ४७६ मतान्तरले पराजित भएका छन् । उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालसँग पराजित भएका हुन् । दाहाल ५२ हजार ५८ का साथ महानगर प्रमुखमा विजयी हुँदा दोस्रो भएका सुवेदीले ३९ हजार ५८२ मत ल्याएका छन् ।

उता इलामको सूर्योदय नगरपालिकामा निवर्तमान प्रदेशसभा सदस्य कागते १ हजार ८५८ मतले प्रमुख हुनबाट वञ्चित भएका छन् । उनलाई एमालेबाटै चोइटिएर गएको नेकपा एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले हराएका हुन् । कागतेले १० हजार ५७९ मत पाउँदा एकीकृत समाजवादीका राई १२ हजार ४३१ मत ल्याएर नगर प्रमुखमा विजयी भएका छन् ।

त्यसैगरी मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका निवर्तमान प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पनि स्थानीय तह निर्वाचनमा मतदाताबाट अस्वीकृत भएका छन् । उनले रौतहटको गढीमाई नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।

आजाद नेपाली कांग्रेसका उम्मेदवार श्यामप्रसाद यादवसँग झण्डै ६०० मतले पराजित भएका छन् । उनले ८ हजार ७३ मत ल्याउँदा यादव ८ हजार ६३१ मतका साथ नगर प्रमुखमा विजयी भएका छन् । आजाद २०७४ को प्रदेशसभा निर्वाचनमा रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए । पछि उनी जसपा प्रवेश गरेका थिए ।

मधेस प्रदेशकै सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा नेपाली कांग्रेसका निवर्तमान प्रदेश सांसद उपेन्द्र प्रसाद कुसवाह पराजित भएका छन् । प्रदेशसभामा कांग्रेसको सचेतक पदबाट राजीनामा दिएर नगर प्रमुखमा उठेका कुसवाह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग पराजित भएका हुन् ।

लोसपाबाट नगर प्रमुखमा निर्वाचित यादवले ५ हजार २९४ मत प्राप्त गर्दा निवर्तमान प्रदेशसभा सदस्य कुशवाहाले ४ हजार ७५२ मत ल्याएका छन् । उनले वैशाख १० गते कांग्रेसको सचेतक पदबाट राजीनामा दिएका थिए । उनी प्रदेशसभा निर्वाचनमा सर्लाही क्षेत्र ४ (ख) बाट विजयी भएका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १६:२७