सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह

नगर प्रमुखको जनमुखी निर्णय, कोहलपुरमा रोजगार बैंक स्थापना

स्थानीय तहमा निर्वाचित भएका बाँके जिल्लाका विभिन्न पालिका प्रमुख र अध्यक्षहरुले जनतालाई आकर्षित गर्न विभिन्न लोकप्रिय निर्णय गर्न थालेका छन् ।

जिल्लाका अधिकांश पालिका प्रमुखले सामाजिक भत्ता घरमै पुर्याउने, शिक्षा र स्वास्थ्यमा विशेष योजना ल्याउने तथा कर घटाउने जस्ता निर्णय गरिरहेका छन् ।

पश्चिम नेपालको केन्द्रबिन्दु मानिएको कोहलपुर नगरपालिकाले नगरभित्र बेरोजगारी अत्याधिक रहेको ठहर गरी समस्या समाधानका लागि रोजगार बैंक स्थापना गर्ने निर्णय गरेको हो ।

कोहलपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख पूर्णप्रसाद आचार्यले पदभार ग्रहण गर्दै रोजगार बैंकको स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेर उक्त बैंक स्थापनाका लागि पहल सुरु गरेका हुन् ।

रोजगार बैंकको स्थापनापछि यहाँका बेरोजगारहरुलाई रोजगारीका लागि सहज हुने अपेक्षा गरिएको जनाउँदै मेयर आचार्यले यसले युवाको विदेश पलायन पनि कम हुने बताए ।

उनले बेरोजगारीकै कारण अहिले कोहलपुरका धेरै युवा रोजगारीको खोजीमा विदेशी भूमिमा अलपत्र पर्न बाध्य रहेकाले नगरपालिकाले रोजगारी सिर्जना गर्न गराउन रोजगार बैंक स्थापना गर्ने निर्णयमा पुगेको बताए ।

आफूले निर्वाचन प्रचार प्रसारको क्रममा अधिकांश नगरवासीबाट सो समस्याका बारेमा गुनासो सुनेकाले नै पहिलो निर्णयहरुमा उक्त निर्णय पनि समावेश गरेको बताए । करिब तीन दशकको एमालेको गढ भत्काउँदै मेयरमा निर्वाचित भएका आचार्यले पदभार लगत्तै सातवटा विभिन्न जनमुखी निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रमुख आचार्यले गरेका अन्य निर्णयहरुमा नगरपालिकामा टोल फ्रि नम्बर सञ्चालन, महिनाको दुई पटक जनतासँग सिधा कुरा गर्ने, छात्रवृत्तिको लागि क्याम्पससँग सहकार्य गर्ने, पूर्वाधार विकासका साथै आर्थिक विकासमा समेत टेवा पुर्याउने गरी आर्थिक अवस्था विश्लेषण गरी ६ महिनाभित्र प्रतिवेदन तयार गर्ने लगायतका जनमुखी निर्णय छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १५:२६