सूचनाको शक्ति - The Power Of Information

        

बालेनका समर्थकहरुद्वारा विजय जुलुसको तयारी (यस्तो छ रुट)

काठमाडौँ महानगरपालिकाको प्रमुखमा जित पक्का गरिसकेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)का समर्थकहरुले विजय जुलुसको तयारी गरेका छन् ।

शाहको चुनावी अभियानमा सक्रिय गणेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विजयी जुलुस निकालिने तयारी गरिएको जानकारी दिएका छन् ।

‘अन्तिम घोषणा भएको केहि समयपछि हाम्रो जुलुस सभा गृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछौँ,’ उनले लेखेका छन् ।

उनले लेखेका छन्, ‘त्यहाँबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै खुला मञ्चमा गएर समापन गर्नेछौँ ।’

आफूलाई पायक पर्ने समय र स्थान मिलाएर ¥यालीमा सामेल हुन सक्ने उनले जानकारी दिएका छन् । पछिल्लो परिणाम अनुसार १ लाख ८३ हजार ६७९ मत गणना भइसकेको छ ।

निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका अनुसार अब तीन वडाको ७ हजार मत मात्रै गणना बाँकी छ । पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५९ हजार १४९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन् । यसैगरी एमाले उम्मेदवार केशव स्थापितले ३७ हजार २१८ मत पाएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १३:०३