काठमाडौं महानगरपालिकाको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तिम चरणमा छ ।
मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार एक लाख ९१ हजार १८६ कुल मतमध्ये अहिलेसम्म एक लाख ८३ हजार ६७९ भन्दा बढी मतगणना भइसकेको छ ।
अब करिब सात हजार ५०७ मतगणना हुन मात्रै बाँकी छ । हालसम्म महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले मत ५९ हजार १४९ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका सिर्जना सिंहले ३७ हजार ५४२ र नेकपा (एमाले)का केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले पाँच हजार ५६५ र स्वतन्त्र ‘आँखीझ्याल’ निर्वाचन चिह्न भएको स्वतन्त्र उम्मेद्वार सुमन सायमीले १३ हजार ३५४ मत ल्याए ।
महानगर उपपमुखमा एमालेका सुनीता डङ्गोलले ६६ हजार ८७८ मत प्राप्त गरिन् । नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत ल्याए ।
राप्रपाका विनीता मगैयाले ११ हजार ६४७ मत प्राप्त गरिन् । उपप्रमुखमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचन चिह्न लौरोले छ हजार ३३६ र आँखीझ्यालको मत १३ हजार १७६ छ ।
काठमाडौं महानगरको ३२ वडामध्ये २९ वटा वडाको नतिजा सार्वजनिक भइसकेको छ । वडा नं. १३, १४ र १५ गरी तीन वटा वडाको मतगणना भइरहेको छ ।
निर्वाचन अधिकृतका कार्यालय अनुसार बाँकी रहेका वडाको नौ ठाउँमा मतगणना गर्ने तयारी भए पनि आवश्यक प्रतिनिधिको अभावका कारण सो हुन नसकेको हो । आज दिउँसोसम्म महानगरको अन्तिम मतपरिणाम सार्वजनिक हुने जनाइएको छ ।
सत्यपाटी । काठमाडौं ।