सूचनाको शक्ति - The Power Of Information

        

यस वर्ष धेरै वर्षा हुने, १७ लाख मानिस प्रभावित हुने अनुमान

नेपालमा यसपालि मनसुनमा झन्डै १७ लाख मानिस प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको प्राधिकरणका अधिकारी बताउँछन् ।

यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तो प्रभाव खासगरी तराई क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ ।

‘लगभग १७ लाख मानिस यो वर्षको मनसुनको प्रभावमा पर्न सक्ने हाम्रो अनुमान छ । त्यसैअनुसार हामीले सबै तहका सरकारलाई ध्यानाकर्षण गराएका छौँ,’ प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले भने ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि जुन १३ तारिख (जेठ ३० गते)देखि मनसुन सुरु हुने अनुमान छ । सङ्घीय सरकारले पनि प्रतिकार्य योजना तयार गरिरहेको र त्यो अन्तिम चरणमा पुगेको विपद् व्यवस्थापनका अधिकारी बताउँछन् ।

त्यस्तै राहत अनि उद्धारका लागि सातै प्रदेशमा गोदामको व्यवस्था गरिएको, प्रदेश सरकारले पनि छुट्टाछुट्टै व्यवस्था गर्ने गरेको बताइएको छ । विपद् व्यवस्थापनका लागि प्राधिकरणमा एक अर्ब रुपैयाँ बजेट छुट्ट्याएकाले यसपालि स्रोतसाधनकै कारण समस्या नहुने आफूहरूको बुझाइ रहेको प्रवक्ता भट्टराई बताउँछन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार ११:०५