सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

‘उपचारमा अब्बल भेरी अस्पताल फेरि बन्यो उत्कृष्ट’

आर्थिक वर्ष २०७८/०७९ मा ६७ अङ्क प्राप्त गरेर भेरी अस्पतालले उत्कृष्ट भएको छ ।

फाइल तस्वीर

मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो ।

मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको बताइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा भेरी अस्पतालले ६७ अङ्क प्राप्त गरेर उत्कृष्ट भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

मूल्याङ्कनका लागि मन्त्रालयका सहसचिवको टोली अस्पतालमा आउने र त्यसैका आधारमा अङ्क दिने गरिएको छ । गत वर्ष पनि भेरी अस्पताल ६१ अङ्क पाएर उत्कृष्ट भएकोे थियो । रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीका लागि भरोसाको केन्द्र मानिँदै आएको छ ।

२०२२ सालमा प्रसूति गृहलाई भेरी अञ्चल अस्पतालमा परिणत गरेपछि बिरामीको चाप बढेसँगै २०४३ सालमा भेरी अस्पताललाई १०० शय्या क्षमताको बनाइयो । २०६१ सालमा पुनः २०० शय्या क्षमताको अनुमति सरकारले दियो । तर, आर्थिक अभावका कारण २०० शय्या सञ्चालन गर्न नसकिएकाले हालसम्म १५० शय्या सञ्चालनमा छन् ।

तर, ५०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने घोषणा गर्दै केन्द्रीय सरकार मातहत रहने गरी अञ्चल हटाएर भेरी अस्पताल नामकरण गरिनुका साथै सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्ने योजना कार्यान्वयन प्रक्रियामै छ । भौतिक पूर्वाधारहरु धमाधम निर्माण भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.चन्दले जानकारी दिए ।

‘निजीस्तरका अति महँगा अस्पतालले भन्दा सस्तो र राम्रो उपचार दिँदै आएको सरकारी अस्पतालको पूरै स्वरूप परिवर्तन हुँदैछ,’ उनले भने । चिकित्सक, नर्ससहित ५१० जनाभन्द्या कर्मचारी रहेको अस्पतालमा बिरामी तथा सेवाग्राहीको बढ्दो चापका आधारमा अझै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी भने न्यून छन् ।

१३२ वर्ष पुरानो अस्पताल भएर पनि अपेक्षित विकास भएको छैन । तर पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अर्थात् प्रेषण केन्द्र भएकाले यहाँ वार्षिक १ लाखभन्दा बढी मानिसको उपचार हुँदै आएको छ । अस्पतालमा कार्डियोथोरासिक, न्युरो मेडिसिन, पिडिया सर्जरी, न्युरो सर्जरी, हेमोडाइलसिस, आईसीयू र एनआईसीयू, ग्यास्ट्रोइट्रोलोजिस्ट सर्जरी, ईएनटी सर्जरी र सोसियो–साइको काउन्सिलिङ सेवा विस्तार गर्नुपर्ने देखिएको छ ।

यसरी स्थापना भएको थियो भेरी अस्पताल

१९४२ सालमा धीरशमशेरका छोरा वीरशमशेरका हातमा शासन सत्ताको बागडोर पुगेपछि श्री ३ को उपाधि प्राप्त गरेसँगै वीरशमशेरले राजा र ‘प्रजा’लाई खुसी तुल्याउँदै शासनसत्ता सञ्चालन गर्न विभिन्न रणनीति बनाउँदै थिए । सत्तामा पुगेको पाँच वर्षपछि १९४७ मा धीरशमशेरको ध्यान पश्चिम नेपालको नेपालगन्जमा पर्यो ।

पश्चिम तराईको सीमावर्ती क्षेत्रका जनतालाई औषधोपचार गर्न भारत जान नपरोस् भन्ने उनको चाहना थियो । सामान्य अवस्थाका बिरामीले समेत उपचार नपाइरहेका बेला नेपालगन्जमा अस्पताल निर्माण गर्ने अवधारणा अघि सारे । सानो घाउचोट लागेका मानिसलाई मल्हमपट्टी लगाउने उद्देश्यले पृथ्वी–वीर डिस्पेन्सरी स्थापना गरे । त्यही डिस्पेन्सरी अर्थात् भेरी अस्पताल अहिले देशकै सर्वोत्कृष्ट अस्पताल बनेको छ ।

श्री ३ जंगबहादुर राणाले भारतको लखनऊमा भएको विद्रोह अर्थात् गदर दबाउन इस्ट इन्डिया कम्पनीलाई मद्दत गरेबापत फिर्ता पाएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको प्रमुख केन्द्र अर्थात् सामरिक महत्त्वको सहर ठानेर श्री ३ वीरशमशेरले पृथ्वी–वीर अस्पतालको जग बसालेका थिए । राजनीति र स्वास्थ्य दुई फरक रणनीतिक उद्देश्यसाथ स्थापना गरिएको भेरी अस्पतालको ऐतिहासिक महत्त्वको छ ।

२००७ सालमा व्यवस्था परिवर्तन भयो । प्रजातन्त्र आयो । व्यवस्था फेरिएसँगै २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृहमा परिणत भयो । २०१७ सालमा फेरि व्यवस्था परिवर्तन भयो । तत्कालिन राजा महेन्द्रले ‘देशको शासन व्यवस्था सञ्चालनका लागि स्वस्थ हुनु अनिवार्य छ,’ भन्दै २०२२ सालमा प्रसूति गृहलाई भेरी अञ्चल अस्पतालमा परिणत गरेपछि विधिवत् रुपमा अस्पताल सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार ०९:३९