सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिक सफलता

३५ वर्षमै नगर प्रमुख बने ‘पूर्ण’

एमालेको किल्ला रूपमा परिचित कोहलपुरमा कांग्रेसका तर्फबाट ३५ वर्षीय युवा उम्मेदवार आचार्यले सफलता प्राप्त गरे ।

बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी भए । आचार्य १४,१३४ मत प्राप्त गरी विजयी भए । विजयी भएका नगरपालिका प्रमुखहरूमध्ये उनी सबैभन्दा कान्छा छन् । ३५ वर्षमै उनी नगर प्रमुख बनेका छन् ।

नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२,२०५ र नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ९,७२५ मत पाए । उपप्रमुखमा कांग्रेसकै सङ्गीता सुवेदी १४०७३ मत प्राप्त गरी विजयी भइन् । एमालेका अस्मिता कुमारी थारूले १३,५१७ र नेकपा (एकीकृत समाजवादी)का नारायणी वलीले ५,०४२ मत प्राप्त गरिन् ।

कोहलपुर नगरपालिकामा यसअघि ७० वर्षीय लुटबहादुर रावत नगर प्रमुख थिए । रावत २०४९ र २०५४ मा साबिक कोहलपुर गाविसको अध्यक्ष तथा २०७४ मा कोहलपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । एमालेको किल्ला रूपमा परिचित कोहलपुरमा कांग्रेसका तर्फबाट ३५ वर्षीय युवा उम्मेदवार आचार्यले सफलता प्राप्त गरे ।

नगर प्रमुखमा निर्वाचित भएपछि आचार्यले पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको कोहलपुरलाई समृद्ध र नमसना सहरका रूपमा विकास गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सबै पक्षको साथ र सहयोगमा नयाँ नेतृत्व अघि बढ्नेछ,’ प्रमुख आचार्यले भने, ‘योजनाबद्ध विकास गरे कोहलपुरलाई नमुना योग्य बनाउनेछौँ ।’

को हुन् पूर्णप्रसाद आचार्य ?

विकट ठाउँमा जन्मिएकाले पनि होला पूर्णप्रसाद आचार्यलाई सामाजिक क्षेत्रमै रहेर काम गर्ने र समाजलाई नमुना बनाउने हुटहुटी सानैदेखिको होे । संयोग नै मान्नुपर्छ तत्कालिन परिस्थितिले उनको चाहनालाई बाटो देखायो । परिस्थिति निर्माणका दुई वटा कारण हुँदा रहेछन् उनी सम्झन्छन्, ‘एउटा बाध्यकारी अर्को स्वःस्फुर्तरुपमा सिर्जित ।’

आचार्यलाई स्वःस्र्फुतरुपमा सिर्जित परिस्थितिले नभएर बाध्यकारी परिस्थितिले समाजसेवाको बाटो जवरजस्त निर्माण गरिदियो त्यो हो तत्कालिन सशस्त्र द्वन्द्व । राज्य व्यवस्था परिवर्तनका लागि माओवादीको नेतृत्वमा भएको जनयुद्धबाट आचार्य परिवार सल्यानबाट विस्थापित भयो । द्वन्दकालको समयमा सल्यानमा बसोबास गर्न निकै जटिल अवस्था सिर्जना भएपछि उनको परिवार बर्दिया जिल्लाको राजापुर हुँदै २०५७ साल कोहलपुर नगरपालिका वडा नं. ८ मा बसाइ सर्यो ।

बुबा हिरालाल आचार्य र आमा इन्दिराको कोखबाट २०४३ साल जेठ १४ गते जन्मिएका आचार्यका तीन दिदी बहिनी छन् । द्वन्द्वकालमा परिवार विस्थापितको पीडा, आफु जन्मिएको गाउँठाउँलाई सम्बृद्ध बनाउने सपनामा कुठराघात भए पनि समाजसेवाको हुटहुटी भने कम हुनै सकेन । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा पढ्दैदेखि उनी विद्यार्थी राजनीतिमा आवद्ध भए ।

राजनीतिबाटै समाजसेवा गर्छु भन्ने अठोटसँगै उनी स्कुले जीवनमै राजनीतिमा पाइला टेकिसकेका थिए । त्यहीबाट सुरु भयो आचार्यको राजनीतिबाट समाजसेवा र देश परिवर्तनको सपना । आज त्यही सपनालाई मूर्तरुपमा दिन सम्बृद्ध कोहलपुर बनाउने अठोट र दृढ इच्छाशक्तिसहित ३५ वर्षीय आचार्य कोहलपुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेर जित हाँसिल गरे ।

विपी कोइरालाको आदर्शबाट प्रभावित आचार्य सामान्य परिवारमा हुर्किएका एक जुझारु, कर्मशील, समाजसेवी, शिक्षित, बेदागी युवा नेता हुन् । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट प्रमाणपत्र तह, शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर तह उर्तिण गरेका आचार्य प्रखर वक्ताका रुपमा परिचित छन् ।

करिब ८ वर्ष नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्ष भई कुशल नेतृत्व प्रदान गरे । नेपाली कांँग्रेसको १३ औँ महाधिवेसनमा तत्कालिन मध्य तथा सुदूरपश्चिमकै कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा परिचित आचार्य १४ औँ महाधिवेसनबाट महाधिवेशन प्रतिनिधि हुँदै पार्टीको महासमिति सदस्यमा अत्याधिक मतले विजयी भएर आचार्य लुम्बिनी प्रदेशकै कान्छो मेयर बने ।

राजनीतिकसँगै सामाजिक कार्यमा सक्रिय यूवा नेता आचार्यले कोरोना भाइरसको महामारीको समयमा हुने खानेले हुँदा खानेलाई सहयोग भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरी आम नागरिकको घर–घरमा गएर नागरिकका विविध समस्याहरुमा हातमा हात तथा काँधमा काँध मिलाउँदै स्वास्थ्य सामाग्री देखि गास, बासको समेत व्यवस्थापनमा आफै खटिएर सहयोग गरे ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालका लुम्बिनी प्रदेका अध्यक्षसमेत रहेका आयार्चले खेलकुदलाई पनि नजिकबाट बुझेका छन् । कोहलपुर नगरलाई समुन्नत बनाउन र दुरदृष्टिसहितको नेतृत्व प्रदान गर्न आचार्य सबैको भरोसाका केन्द्रको रुपमा आफुलाई स्थापित गरेकै कारण पश्चिम नेपालको उदाउँदो शहर कोहलपुरको मेयरमा विजयी भएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १३:५५