सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

लुम्बिनीमा कांग्रेस पहिलो दल निश्चित

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये १०५ पालिकाको अन्तिम नतिजा अनुसार कांग्रेस ४६, एमाले २६ र माओवादी २५ पालिकामा विजयी भएको छ ।

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये १०५ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । चार वटा पालिकाको नतिजा आउन बाँकी छ । अहिलेसम्म सार्वजनिक स्थानीय तहको परिणाम हेर्दा कांग्रेस प्रदेशमा पहिलो दल हुने निश्चित देखिएको छ ।

माओवादी केन्द्रले भन्दा एमालेले प्रदेशमा एउटा मात्रै बढी स्थानीय तह जितेको छ । अघिल्लो निर्वाचनमा लुम्बिनीका ३३ पालिका प्रमुख जितेको कांग्रेसले यसपटक ४६ वटा पालिका प्रमुख जितिसकेको छ । उसले १९ नगरपालिकामा मेयर र २७ वटा गाउँपालिका अध्यक्ष जितेको हो ।

कांग्रेसले रुपन्देही, बाँके, बर्दिया र दाङमा आधाभन्दा बढि पालिका एक्लै जितेको छ । रुकुमपूर्व र रोल्पा जिल्लामा भने कांग्रेस कमजोर देखिएको छ । पाल्पा र अर्घाखाँचीमा गठबन्धन गरे पनि खासै सफलता हाल लाग्न नसकेको कांग्रेसका स्थानीय नेताहरुले बताउन थालेका छन् ।

प्रदेशभर कांग्रेसले ४३ वटा उपप्रमुख जितेको छ । प्रदेशभर अहिलेसम्म कांग्रेसले ३७० वटा वडामा जित हात पारेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रदेशमै सबैभन्दा बलियो अवस्थामा रहेको एमाले यसपटक माओवादी केन्द्रकै हाराहारीमा पुगेको छ ।

०७४ को निर्वाचनमा प्रदेशमा ४३ पालिका प्रमुख जितेको एमालेले अहिलेसम्म २६ पालिकामा मात्रै जित हात पारेको छ । उसले ८ नगरपालिकामा प्रमुख जितेको छ भने १८ वटा गाउँपालिमा अध्यक्ष जितेको छ । पाल्पा र अर्घाखाँचीमा एमाले अहिले पनि बलियो नै देखिएको छ ।

बाँकी जिल्लामा भने एमाले अघिल्लो निर्वाचन परिणाम भन्दा कम्जोर देखिएको छ । बाँकेमा त एमालेले कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख जित्न सकेको छैन । दाङको घोराही उपमहानगरमा भने एमालेले बाजि मारेको छ ।

मतगणना चलिहरको तुल्सीपुरमा पनि एमाले अघि छ । अरु ८ पालिकामा भने उसलाई सफलता हात नलाग्ने अवस्था सिर्जना हुँदैछ । रुपन्देहीमा पनि एमालेले अघिल्लो पटक जितेका पालिकाहरु गुमाएको छ । एमालेले पालिका प्रमुखमा पराजित भएका धेरै ठाउँमा उपप्रमुख जितेको छ ।

प्रदेशभरमा एमालेले ३८ पालिका उपप्रमुख हात पारेको छ । त्यस्तै प्रदेशभरमा हालसम्म एमालेले ३०६ वटा वडा जितेको छ । लुम्बिनीमा माओवादी केन्द्र एमालेकै हाराहारीमा पुगेको छ । अहिलेसम्म माओवादी केन्द्र लुम्बिनीका २५ पालिकामा विजयी भएको छ ।

उसले २२ वटा गाउँपालिका र ३ वटा नगरपालिकामा पालिका प्रमुख जितेको छ । अघिल्लो चुनावमा उसले लुम्बिनीका १९ वटा पालिका जितेको थियो । रोल्पा र रुकुममा माओवादी केन्द्रले आफ्नो प्रभाव कायमै राखेको छ । दाङमा पनि पहिले भन्दा राम्रो गरेको छ ।

गुल्मीमा कतै कांग्रेस र कतै एमालेसँग तालमेल गरेर ४ वटा पालिका प्रमुख जितेको छ । तर, अर्घाखाँची, कपिलबस्तु र रुपन्देहीमा माओवादी केन्द्र कम्जोर देखिएको छ । प्रदेशका १५ पालिकामा माओवादी केन्द्रले उप्रमुख पद जितेको छ ।

माओवादीले रुख चिन्हबाट पनि केही उपप्रमुख पद पाएको छ । माओवादीले प्रदेशभरबाट १७० वटा वडाध्यक्ष जितेको छ । यो बाहेक केही वडा माओवादी केन्द्रले रुख चिन्हबाट पनि हात पारेको छ । अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा एमालेलाई धक्का लागेको छ ।

त्यसैगरी एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले लुम्बिनीमा राम्रो नतिजा ल्याउन सकेन । प्रदेशभरमा उसले ४ वटा वडा मात्र जितेको छ । जनता समाजवादी पार्टीले रुपन्देही, कपिलबस्तु र बाँकेमा एक एक वटा पालिका प्रमुख जितेको छ ।

उसले विभिन्न जिल्लाका तीनवटा स्थानीय तहमा उपप्रमुख पनि जितेको छ । जसपाले प्रदेशभरमा हालसम्म ४३ वटा वडा जितेको छ । लोकतान्त्रीक समाजवादी पार्टीले प्रदेशमा २ वटा पालिका प्रमुख जितेको छ । उले २ वटा उपप्रमुख पनि जितेको छ ।

प्रदेशभरमा लोसपा १५ वटा वडामा विजयी भएको छ । राष्ट्रिय जनमोर्चाले प्युठान र अर्घाखाँचीमा २ वटा पालिका प्रमुख र २ वटा उपप्रमुख हात पारेको छ । उसले १६ वटा वडा पनि जितेको छ । राप्रपाले एउटा पालिका प्रमुख र २ वटा उपप्रमुख जितेको छ । २१ वटा वडाध्यक्ष जितेको छ ।

ह्दयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीले पनि एक पालिकामा प्रमुख र उपप्रमख जितेको छ । उसले रुपन्देहीमा २ र नवलपरासीमा एउटा वडा पनि जितेको छ । लुम्बिनीका १२ वटा वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १३:३१