सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

बाँकेमा एमाले शून्य, राप्रपाले पनि जोगाएन विरासत

एमाले बाँकेका इन्चार्ज सूर्य ढकालले भने, ‘दोस्रो शक्ति बन्यौं’

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । विसं २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सीमित हुन पुगेको छ ।

उस्तै हालत राप्रपाको पनि छ । उसले नेपालगन्जमा आफ्नो विरासत जोगाउन सकेन । निर्वाचनको सबै पालिकाको नतिजा सार्वजनिक हुँदा आठ पालिका रहेको जिल्लामा नेपाली काँग्रेसले सबैभन्दा बढी पालिका जितेर सबैभन्दा ठूलो दल बनेको छ ।

काँग्रेसले पाँच पालिकामा प्रमुख–उपप्रमुख दुवै, दुई पालिकामध्ये एकमा प्रमुख, अर्कोमा उपप्रमुख जित्न सफल भएको छ । जनता समाजवादी पार्टी (जसपा)ले एक पालिका प्रमुख र दुई उपप्रमुखमा जित निकालेको छ भने नेकपा (माओवादी केन्द्र)ले एक पालिका प्रमुख जितेको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लाको कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकामा काँग्रेसले जित निकालेको छ भने खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ ।

नरैनापुर गाउँपालिकामा जसपा पुनः विजय भएको छ । राप्तीसोनारीको अध्यक्षमा काँग्रेसका तप्त पौडेल र उपाध्यक्षमा पूर्णिमासिंह थारू, डुडुवाको अध्यक्षमा काँग्रेसका नरेन्द्र चौधरी र उपाध्यक्षमा शाहिदा बानो विजयी भएका छन् ।

जानकीको अध्यक्षमा काँग्रेसका छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव, बैजनाथको अध्यक्षमा काँग्रेसकै प्रकाश शाह, उपाध्यक्षमा निर्मला रोकाय, नरैनापुरको अध्यक्षमा जसपाका मोहम्मद इश्तियाक अहमद साह र उपाध्यक्षमा जयन्ती श्रीवास्तव, कोहलपुरमा काँग्रेसका पूर्ण आचार्य र उपप्रमुखमा सङ्गीता सुवेदी पौडेल विजयी भएका छन् ।

माओवादी–काँग्रेसको गठबन्धन रहेको खजुराको अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा काँग्रेसका मञ्जु मल्ल विजयी भए भने पाँचदलीय गठबन्धन रहेको नेपालगन्ज उपमहानगरमा गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार काँग्रेसका प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार जसपाका कमरुद्दीन राई विजयी भएका छन् ।

विस २०७४ को निर्वाचनमा चार पालिका जितेको एमालेले जिल्लामा पहिलो पटक यस निर्वाचनमा कुनै पनि पालिका जित्न सकेन । गठबन्धनका बाबजुद पनि जिल्लाका ६ पालिकामा एमाले दोस्रो शक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल भएको एमाले बाँकेका इन्चार्ज सूर्य ढकालले बताए ।

राप्रपाका महामन्त्री डा.धवलशम्शेर राणाले आफ्नो विरासत जोगाउन कोसिस भए पनि सम्भव हुन नसकेको बताए । राप्रपाले माओवादीबाट नन्दलाल वैश्यलाई पार्टीमा ल्याएर निर्वाचन लडाएको थियो । नेपालगन्जमा वैश्य तेस्रो स्थानमा रहेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १०:२३