सूचनाको शक्ति - The Power Of Information

        

वीरगन्जको मेयरमा निर्वाचित भए राजेशमान

वीरगन्ज महानगरपालिकाको विकास र परिवर्तनका लागि खबरदारी गर्ने राजेशमान सिंह अन्ततः जवाफदेहिताको स्थानमा पुगेका छन् । वि.सं. २०५४ सालको स्थानीय निर्वाचनबाट वीरगन्ज–३ को वडा सदस्यमा निर्वाचित सिंह २५ वर्षपछि मेयरमा विजयी भएका छन् ।

०६० सालको स्थानीय निर्वाचनमा पनि अत्यधिक मत पाएर साविकको वीरगन्ज उपमहानगरपालिका–३ को वडाअध्यक्षमा निर्वाचित भएका सिंह विशुद्ध राजनीतिक व्यक्तित्व हुन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरको प्रत्यासी बनेका सिंह विजयकुमार सरावगीभन्दा सात हजार २२८ मतान्तरले पछाडि परेका थिए ।

उनले योपटक सरावगीलाई २२ हजार ४४४ मतान्तरले पछाडि पारे । अहिले मेयरमा निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का उमेदवार सिंहले ४६ हजार २१५ मत प्राप्त गरेका छन् । निवर्तमान मेयर समेत रहेका नेकपा (एमाले)का उमेदवार सरावगीले २३ हजार ६७१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार गिरिश गिरीले तीन हजार ३१३ मत पाएका छन् । गिरीले आफ्नो जमानत पनि जोगाउन सकेनन् । सिंह केही महिनाअगाडि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै जसपामा प्रवेश गरेका थिए । जसपाबाट निर्वाचित मेयर सरावगी एमालेमा प्रवेश गरेपछि पर्सा क्षेत्र नम्बर–१ का संघीय सांसद् प्रदीप यादवले सिंहलाई सरावगीसँग प्रतिस्पर्धा गर्न जसपामा भित्र्याएका थिए ।

उपप्रमुख पदमा नेपाली कांग्रेस इम्तियाज आलम निर्वाचित भएका छन् । उनले २५ हजार १५८ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ७१९ पाएका छन् । वीरगन्जमा सत्ता गठबन्धनमा आबद्ध दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाबीच चुनावी तालमेल भएको थियो । प्रतिपक्ष एमाले र लोसपाले तालमेल गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १०:०४