सूचनाको शक्ति - The Power Of Information

        

वीरगञ्जमा भाइरल बन्यो मेयरका उम्मेदवार राजेशमानको तस्वीर

‘उहाँलाई न एसी चाहिन्छ, न सोफा, न राजगद्दी, भुईंं मान्छे भुईंंमै सिरानी ।’ भुईंमा बिछ्याइएको म्याटमा सुतेका राजेशमान सिंहको तस्वीरसहित सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेखेका छन्, पत्रकार जियालाल साहले । वीरगञ्जका अधिकांश युवाहरूले यो तस्वीर पोस्ट गरेका छन् ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जको मेयरमा सुनिश्चित भइसकेका राजेशमान भुईंमा म्याट ओछ्याएर सुतेको देखेपछि उनको चौतर्फी प्रसंशा भइरहेको छ । वीरगञ्ज मुर्लीका युवा निरज पाण्डे त्यही तस्वीर पोस्ट गर्दै लेख्छन्, ‘भुईंबाट उठेको व्यक्तिलाई आकाश हेर्दा राम्रो लाग्न सक्ला तर उसले आफ्नो माटोलाई कहिल्यै बिर्सिन सक्दैन । किनभने उसले भुईं र माटोको महत्व बुझेको हुन्छ, माटोले उसलाई दिएको शक्ति बुझेको हुन्छ ।’

शक्तिले मान्छे मात्तिने र आफ्नो धरातल भुलेर आफूलाई नै सर्वोपरी ठान्ने बुझाइ उक्त तस्वीरले गलत साबित गरिदिएको पाण्डे बताउँछन् । उनी अझै थप्छन्, ‘उसले चाहेको भए आज हरेक सेवा सुविधा प्रयोग गर्न सक्थ्यो । तर अहँ ! उसलाई आफ्नो भुईं प्यारो छ, आफ्नो धरातल प्यारो छ ।’ वीरगञ्जको नेतृत्व गर्ने जिम्मा सही व्यक्तिलाई दिएको प्रमाणित भएको पनि पाण्डेको भनाइ छ ।

स्थानीय युवा उद्यमी अनिल ब्याहुतले त्यही तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘यो फोटो देख्दा सार्है चित्तबुझ्यो । माटोमा जन्मेको व्यक्ति आनन्दले भुईंमै निदाएका छन् । आज जुन पदमा उनी निर्वाचित हुँदैछन्, उनले चाहेको भए त्यही बेड वा सोफाको व्यवस्था गराउन सक्थे । तर उनलाई आफ्नो माटो नै प्यारो लाग्यो र भुईंमै मस्त निन्द्रामा सुते ।’ इन्जिनियर राजेश यादवले पनि यस्तै आशयसहित सोही तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।

राजेशमान सिंहलाई मेयरका लागि मत हालेर वीरगञ्जको परिवर्तन गर्ने अभियानमा सहयोग गरेको वीरगञ्जका स्थानीय युवा सन्दिप पटेलको धारणा छ । वीरगञ्जबासीको सामाजिक सञ्जाल आज राजेशमानको सोही तस्वीरले भरिएको छ । मत गणनास्थलको कोठामा बिछ्याइएको म्याटमा सुतेका राजेशमानको उक्त तस्वीरले वीरगञ्जवासीमा उत्साह थपिएको सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले स्पष्ट हुन्छ ।

बालकदेखि वृद्धसम्म, सञ्चारकर्मीदेखि सामाजिक अभियानतासम्मले उक्त तस्वीरलाई सेयर गर्दै उनलाई बधाई तथा शुभकामना दिएका छन् । जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार रहेका राजेशमानले नेपाली कांग्रेसका इम्तियाज आलमसँग १४,६०२ मत अन्तर बनाएका छन् । राजेशमानले ३९६६१ मत प्राप्त गरेका छन् भने इम्तियाजले २५०५९ मत ल्याएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १६:५३