काठमाडौं महानगरपालिकामा एक लाख ३७ हजार ४५२ मत गणना सम्पन्न भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ४६ हजार ९६६ मत पाएर अग्रस्थानमा छन् । बालेन दोस्रो स्थानकी कांग्रेसकी सिर्जना सिंहभन्दा १८,८२५ मतले अगाडि छन् ।
सिंहले २८ हजार १४१ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले २७ हजार २८६ मत पाएका छन् । अहिले काठमाडौंको ‘कोर एरिया’ भनिने भित्री काठमाडौंका वडाहरुको मतगणना भइरहेको छ । यी ठाउँबाट स्थापित र सिर्जनाले धेरै मत पाउने र बालेनलाई उछिन्ने अपेक्षा गरेका थिए ।
कोर एरियाको भोटले जित्ने एमाले र कांग्रेसको आशामा भने सुमन सायमीले पानी फेरिदिएका छन् । यहाँ बालेन शाहको मत एमाले कांग्रेसको भन्दा कम देखिएको छ । तर, जुन हिसाबले आफूलाई भोट ओइरिने एमाले–कांग्रेसको आशा थियो त्यो भने देखिएको छैन ।
यहाँ एमाले–कांग्रेसले आश गरेको मत ठूलो परिमाणमा स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई गएको छ । अहिलेसम्म सुमन सायमीले पनि झण्डै साढे ६ हजार मत पाइसकेका छन् । कोर एरियामा सुमनको मत राम्रो छ ।
उनले टेकुमा १४ प्रतिशत, कालीमाटीमा २४ प्रतिशत, डल्लुमा १४ प्रतिशत, भिमसेनस्थानमा १३ प्रतिशत, ज्याबहालमा ७ प्रतिशत, टेबहालमा १६ प्रतिशत, ओमबहालमा १४ प्रतिशत, मखनमा १० प्रतिशत, जनबहालमा २० प्रतिशत, महाबौद्धमा १३ प्रतिशत मत पाएका छन् । यी कोर एरिया भनिने क्षेत्र हुन् ।
सत्यपाटी । काठमाडौं ।