सूचनाको शक्ति - The Power Of Information

        

संघर्षशील राजनीतिबाट उदाएका युवा

३० वर्षपछि कोहलपुरमा कांग्रेसको विरासत फर्काउने ‘पूर्ण’

विपी कोइरालाको आदर्शबाट प्रभावित पूर्णप्रसाद आचार्य सामान्य परिवारमा हुर्किएका एक जुझारु, कर्मशील, समाजसेवी, शिक्षित, बेदागी युवा नेता हुन् ।

बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य र संगिता सुवेदी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिलप्रसाद भुसाललाई १,९२९ मतको अन्तरले पराजित गर्दै उनी आचार्य निर्वाचित भएका हुन् ।

नवनिर्वाचित नगर प्रमुख आचार्यले १४,१३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए । एमालेका भुसालले १२,२०५ मत ल्याए । नगर प्रमुख पदमै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र न्यौपानेले ९,७२५ मत प्राप्त गरे ।

२०७४ को स्थानीय निर्वाचनमा नगर प्रमुख पदमा एमाले र उपप्रमुखमा कांग्रेसले जितेको थियो । यसपटक एमालेले दुबै पद गुमाएको छ । कांग्रेसले करिव ३० वर्षपछि कोहलपुरमा आफ्नो विरासत कायम गर्न सफल भएको छ ।

यसअघि तत्कालीन कोहलपुर गाविस हुँदासमेत कांग्रेसले हार्ने गरेको थियो । नगर उपप्रमुखमा निर्वाचित सुवेदीले १४,०७३ मत प्राप्त गरिन् । नेकपा एमालेकी अस्मिता थारुलाई ५५६ मतको अन्तरले पराजित गरेकी हुन् ।

अस्मिताले १३,५१७ मत प्राप्त गरिन् । यस्तै गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) की नारायणी ओली तेस्रो भइन् । उनले ५,०४२ प्राप्त गरेको निर्वाचन अधिकृत भट्टले बताए । कुल १५ वटा वडा रहेको कोहलपुरमा यसपटक कांग्रेसले वडामा पनि बहुमत ल्याएको छ ।

कोहलपुुर नगरपालिका वडा नं.१ मा नेकपा (माओवादी केन्द्र)का बद्रीप्रसाद जैसी, वडा नं.२ मा कांग्रेसका हरि कठायत, वडा नं.३ मा नेकपा एमालेका माधव रिजाल, वडा नं.४ मा कांग्रेसका मुबारक अलि गुजर, वडा नं.५ मा एमालेका दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै वडा नं.६ मा कांग्रेसका श्रीकृष्ण थारु, वडा नं.७ मा एमालेका ठग्गा थारु, वडा नं.८ मा कांग्रेसका लालबहादुर राना, वडा नं.९ मा नेकपा माओवादी केन्द्रका ओपेन्द्रनाथ योगी, वडा नं.१० मा कांग्रेसकी गौराकुमारी अधिकारी (भट्टराई) निर्वाचित भइन् ।

यसैगरी वडा नं.११ मा एमालेकी कल्पना शर्मा, वडा नं.१२ मा कांग्रेसका विरेन्द्रकुमार शाह, वडा नं.१३ मा डम्बरबहादुर खड्का, वडा नं.१४ मा कांग्रेसका नमबहादुर आले र वडा नं.१५ मा पनि कांग्रेसकै दिपेन्द्रकुमार चौधरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

को हुन् पूर्णप्रसाद आचार्य ?

विकट ठाउँमा जन्मिएकाले पनि होला पूर्णप्रसाद आचार्यलाई सामाजिक क्षेत्रमै रहेर काम गर्ने र समाजलाई नमुना बनाउने हुटहुटी सानैदेखिको होे । संयोग नै मान्नुपर्छ तत्कालिन परिस्थितिले उनको चाहनालाई बाटो देखायो । परिस्थिति निर्माणका दुई वटा कारण हुँदा रहेछन् उनी सम्झन्छन्, ‘एउटा बाध्यकारी अर्को स्वःस्फुर्तरुपमा सिर्जित ।’

आचार्यलाई स्वःस्र्फुतरुपमा सिर्जित परिस्थितिले नभएर बाध्यकारी परिस्थितिले समाजसेवाको बाटो जवरजस्त निर्माण गरिदियो त्यो हो तत्कालिन सशस्त्र द्वन्द्व । राज्य व्यवस्था परिवर्तनका लागि माओवादीको नेतृत्वमा भएको जनयुद्धबाट आचार्य परिवार सल्यानबाट विस्थापित भयो । द्वन्दकालको समयमा सल्यानमा बसोबास गर्न निकै जटिल अवस्था सिर्जना भएपछि उनको परिवार बर्दिया जिल्लाको राजापुर हुँदै २०५७ साल कोहलपुर नगरपालिका वडा नं. ८ मा बसाइ सर्यो ।

बुबा हिरालाल आचार्य र माता इन्दिरा आचार्यको कोखबाट २०४३ साल जेष्ठ १४ गते जन्मिएका आचार्यका तीन दिदीवहिनी छन् । द्वन्दकालमा परिवार विस्थापितको पीडा, आफु जन्मिएको गाउँठाउँलाई सम्बृद्ध बनाउने सपनामा कुठराघात भए पनि समाजसेवाको हुटहुटी भने कम हुनै सकेन । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा पढ्दैदेखि उनी विद्यार्थी राजनीतिमा आवद्ध भए ।

राजनीतिबाटै समाजसेवा गर्छु भन्ने अठोटसँगै उनी स्कुले जीवनमै राजनीतिमा पाइला टेकिसकेका थिए । त्यहीबाट सुरु भयो आचार्यको राजनीतिबाट समाजसेवा र देश परिवर्तनको सपना । आज त्यही सपनालाई मूर्तरुपमा दिन सम्बृद्ध कोहलपुर बनाउने अठोट र दृढ इच्छाशक्तिसहित ३५ वर्षीय आचार्य कोहलपुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेर जित हाँसिल गरेका छन् ।

विपी कोइरालाको आदर्शबाट प्रभावित पूर्णप्रसाद आचार्य सामान्य परिवारमा हुर्किएका एक जुझारु, कर्मशील, समाजसेवी, शिक्षित, बेदागी युवा नेता हुन् । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट प्रमाणपत्र तह, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर तह उर्तिण गर्नुभएका नगर प्रमुख पदका उम्मेदवार आचार्य प्रखर वक्ताका रुपमा परिचित छन् ।

करिब ८ वर्ष नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्ष भई कुशल नेतृत्वप्रदान गरेको उनको अनुभव छ । नेपाली कांँग्रेसको १३ औँ महाधिवेसनमा तत्कालिन मध्य तथा सुदूरपश्चिमकै कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा परिचित आचार्य १४ औँ महाधिवेसनबाट महाधिवेशन प्रतिनिधि हुँदै पार्टीको महासमिति सदस्यमा अत्याधिक मतले विजयी भएका थिए । उनै आचार्य अहिले लुम्बिनी प्रदेशकै कान्छो मेयर पनि बनेका छन् ।

राजनीतिकसँगै सामाजिक कार्यमा सक्रिय यूवा नेता आचार्यले कोरोना भाइरसको महामारीको समयमा हुने खानेले हुँदा खानेलाई सहयोग भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरी आम नागरिकको घर–घरमा गएर नागरिकका विविध समस्याहरुमा हातमा हात तथा काँधमा काँध मिलाउँदै स्वास्थ्य सामाग्री देखि गास, बासको समेत व्यवस्थापनमा आफै खटिएर सहयोग गरे ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालका लुम्बिनी प्रदेका अध्यक्ष समेत रहेका आयार्चले खेलकुदलाई पनि नजिकबाट बुझेका छन् । कोहलपुर नगरलाई समुन्नत बनाउन र दुरदृष्टि सहितको नेतृत्व प्रदान गर्न आचार्य सबैको भरोसाका केन्द्रकोरुपमा आफुलाई स्थापित गरेकै कारण पश्चिम नेपालको उदाउँदो शहर कोहलपुरको मेयरमा विजयी भएका छन् । मेयर आचार्यलाई सत्यपाटी पब्लिकेशन प्रा.लि.का तर्फबाट हार्दिक शुभकामना ।।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतवार २२:२५